मिथिलाञ्चलमा धनतेरस पर्व मनाइँदै

Posted on: 25 Oct, 2019

कात्तिक ८, जनकपुरधाम | मिथिलाञ्चलमा आज धनतेरस पर्व हर्षोल्लासकपूर्वक  मनाइँदै छ । यो पर्व मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव भए पनि मिथिलाञ्चलमा आजका दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रहेको छ ।

समाजका उच्च, मध्यम र निम्नवर्गले आ–आफ्ना आवश्यकता र विलासिताका महत्वपूर्ण चीजबीजको किनमेलका लागि आजको दिनलाई विशिष्ट दिन मान्ने गरेका छन् । यो पर्वमा किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्नेबारे कुनै निश्चित आधार नभए पनि धन्वन्तरीको प्रादुर्भाव समुद्र मन्थन भएको र उत्पन्न हुँदा हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले भाँडाकुँडा किनमेलको क्रम शुरु भएको विश्वास पाइन्छ ।

आयुर्वेदका प्रवर्तक धन्वन्तरीको प्रकटसँग स्वास्थ्य र धनको प्रसङ्ग रहेका कारण धन्वन्तरीको पूजाले भाग्योदय हुने मान्यता रहेको छ । त्यसैले भाडाँकुँडा, सुनचाँदीको किनमेल गरी धन्वन्तरी, यम र कुबेरको पूजा गरिने चलन छ । धनतेरसका दिन यमको पूजा गर्नाले अकाल मृत्युबाट रक्षा र कुबेरको पूजाले दरिद्रता नरहने मानिन्छ  । आजका दिन नयाँ समान खरीद गर्दा पैसा १३ गुणा बढी हुन्छ भन्ने मान्यता रहिआएको छ ।

धातुले नकारात्मक ऊर्जालाई मेटाउने भएकाले आजका दिन सुन र चाँदीको खरीद गरी धनको वर्षा हुने आशा राख्ने गरेको पाइन्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!