कार दुर्घटनामा मृत्यु भएका चार नेपालीको अमेरिकामै दाह संस्कार

Posted on: 12 Nov, 2016


विजय थापा/कात्तिक २७, वाशिंगटन डिसी । गत शुक्रबार नोवेम्बर ४ तारिख दुखदायी कार दुर्घटनामा निधन भएका चार नेपालीहरूको आज जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दु परम्परा अनुसार दाह संस्कार सम्पन्न भयो ।

निसान अल्टिमा नामक कारमा सवार गरिरहेका उक्त गाडी दुर्घटना करिब शुक्रबार राति ९ बजे घट्न पुगेको थियो भने २९६ नामक जर्जिया राजमार्गको उत्तरतर्फ गइ रहेको अवस्थामा ८८ राजमार्गमा १८ पाङ्ग्रे ठूलो मालबाहक गाडीसँग ठोकिन पुगेको थियो ।

एस टर्नेर एन्ड सन्स, डेकाटोरमा आयोजित अन्त्येष्टि कार्यक्रममा निधन भएका चिरन्जीवी खनाल, श्यामा खनाल र रिचा पन्त खनालको शवमा जेष्ठ सुपुत्र समिर खनालले दागवत्ती दिएका थिए । त्यस्तै उक्त दुर्घटनामा निधन भएकी प्रतिमा सुवेदीलाई दाजु प्रतिक सुवेदीले दागबत्ति दिएको जानकारी भर्जिनियाका उनका नातेदार तथा समाज सेवी सुनिलमणि दाहालले जर्जियाबाट बताए ।

खनाल परिवारका कान्छा छोरा सुवास खनालको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको र उनी उपचारका क्रममा अगस्ता अस्पतालमा रहेको पारिवारिक सुत्रले बताएका छन् ।

उक्त अन्त्येष्टि कार्यक्रममा खनाल तथा सुवेदी परिवारका आफन्तहरूले निधन भएकाहरूका बारेमा स्मरणका आफ्ना भनाईहरू प्रस्तुत गरे ।

अन्त्येष्टि कार्यक्रममा सहभागिता जनाई श्रद्धान्जली दिन जर्जिया, भर्जिनिया, सिकागो, क्यालीफोर्नीया, टेक्सासलगायत अन्य राज्यहरूवाट आफन्तजन र साथीभाईहरूको उल्लेखनीय उपस्थिति थियो ।

यस दुखद घडिमा निधन भएकाहरूप्रति हार्दिक समवेदना दिँदै घाईते समिर खनाल र सुवास खनालको शीघ्र लाभको कामना गरियो , त्यस्तै यस विपतीमा भोक प्यास नभनी खट्ने जर्जिया विश्वबिद्यालयस्थित नेपाली विद्यार्थी समूह तथा सहयोग र सहानुभूति दर्शाउनुहुने सम्पूर्ण नेपाली समुदायहरूलाई धन्यवाद ज्ञापन गरियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!