सप्तरीमा विद्युत् चोरी गर्ने ३६८ जना कारबाहीमा

Posted on: 02 Dec, 2016

मङ्सिर १७, सप्तरी । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले हुकिङ गरी विद्युत् चोरी गर्ने ३६८ जनालाई कारबाही गरेको छ । 

चालु आर्थिक वर्ष २०७३/७४ को साउनदेखि मङ्सिरको हालसम्म जिल्लामा हुकिङ गरी विद्युत् चोरी गर्नेलाई कारवाही गरिएको हो । व्यापक विद्युत् चोरी भइरहेको भन्दै जिप्रका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले गरेको अनुगमनबाट विद्युत् चोरी गर्नेलाई पक्राउ गरी कारबाही गरेको केन्द्रका प्रमुख रामउद्गार साहले बताउनुभयो । 

पक्राउ गरेकाहरुबाट करिब रु २९ लाख ५७ हजार भन्दा बढी राजस्वसमेत असुली गरेको उहाँले जानकारी दिनुभयो । यस्तै विद्युत् चोरी गर्नेहरुको साथबाट विद्युत् उपकरणसमेत बरामद गरिएको बताइएको छ । 

जिल्लामा सञ्चालन गरिएको विद्युत् चुहावट नियन्त्रण अभियान प्राधिकरणले जारी नै राखेको छ । त्यस्तै प्राधिकरणले साउनदेखि मङ्सिरको दोस्रो सातासम्म लगभग पाँच हजारभन्दा बढी घरमा लगाइएको हुकिङ हटाएको प्रमुख साहले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!