अफ्रिका क्षेत्रीय बैठक सम्पन्न, यस्ता छन् दार-ए–सलामका सात बुँदे घोषणाहरु

Posted on: 25 Dec, 2016

पुस १०, दार-ए–सलाम | पूर्वी तथा पश्चिम अफ्रिका मुलुकहरुमा हेर्ने गरी दूतावास खोल्न सरकारसँग आग्रह गर्दै गैर आवासीय नेपाली संघ(एनआरएनए)को दोस्रो अफ्रिका क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा आइतबार सम्पन्न भएको छ । 

पछिल्लो नेपाली बैदेशिक रोजगारी तथा व्यवसायमा आउने नेपालीको संख्या निरन्तर रुपमा बढ्दै गरेकाले दुवै क्षेत्रका एक एक वटा राजदूतावास आवश्यक भएको बैठकले ठहर गरेको छ । सात बुँदे दार ए सलाम घोषणा पत्र जारी गर्दै बैठक सम्पन्न भएको छ । 

एनआरएनएका अफ्रिका क्षेत्रका संयोजक सुनिल कार्कीले काम र व्यवसायका लागि आउने नेपालीहरु संख्या पूर्वी तथा पश्चिम अफ्रिकी मुलुकहरुमा भएपनि राजदूतावास उत्तर र दक्षिण क्षेत्रमा भएकाले काम गर्न अफ्ठ्यारो भएको बताए । 

'समस्या पर्योर भनेर मात्रै होइन । भविष्यमा यस ठूलो संभावना भएको क्षेत्र पनि हो । यहाँ नेपालीहरुको आउने क्रम पछिल्लो समयमा बढेको छ' कार्कीले भने, 'तर हाम्रो दुतावास भने उत्तर र दक्षिण क्षेत्रमा रहेको छ । यति ठूलो महादेशलाई समेट्न सक्दैन।'

५४ वटा देश रहेको अफ्रिकामा २ वटा दुतावास रहेको छ । इजिप्टको कायरो र दक्षिण अफ्रिकाको प्रिटोरियामा दुतावास रहेको छ। दक्षिण अफ्रिकाका देशलाई कायरो र पूर्वी अफ्रिकी मुलुकलाई प्रिटोरियाले हेर्दै आएको छ । कार्यक्रममा पछिल्लो समयमा रोजगारी र व्यवसायमा गरी करिव ५ हजार नेपाली अफ्रिका बसोबास गर्दै आएको जानकारी गराइएको थियो । 

दार ए सलाम घोषणा पत्रमा रोजगारीका लागि अफ्रिका आउने नेपालीहरुका लागि श्रम स्वीकृति, राहदानी नवीकरण, अन्य काजगातको सिफारिसका सम्बन्धमा सरकारी प्रक्रिया झन्झटिलो तथा अफ्ठ्यारो रहेकाले त्यसलाई सहज र सुलभ बनाउन सरकारसँग माग गरेको छ । 

बैठकमा सहभागी प्रतिनिधिहरुले वैदेशिक रोगजार विभागले धेरै झन्झट बनाएको कारण श्रम स्वीकृति नलिइ भारतबाट आउनु पर्ने बाध्यता रहेको गुनासो गरेका छन् । त्यसका कारण कुनै समस्या पर्दा सरकारी निकायबाट सहयोग पाउन अफ्ठ्यारो हुने गरेको बताए । 

त्यसैगरी पछिल्लो समयमा अफ्रिका क्षेत्रमा मानव तस्करले नेपालीलाई अलपत्र पार्ने घटनाहरु बढेकाले त्यसका समाधानका लागि उचित कदम चल्न र आवश्यक संयन्त्र निर्माणका लागि सरकारसँग आग्रह गरेको छ । 

घोषणा पत्रमा बैदेशिक रोजगारी तथा व्यवसायमा संलग्न भएर अफ्ठ्यारो परेका नेपाली र अलपत्र पर्ने नेपालीहरुको उद्दार तथा राहतका लागि स्थापना गरेको 'एनआरएए अफ्रिका आपत्कालीन राहत कोष'लाई वृद्धि गरि कम्तीमा १५ लाख रुपैया निर्णय गरेको छ । 

पहिलो क्षेत्रीय सम्मेलनले सो कोष स्थापना गरिएको थियो । अफ्रिकाका विभिन्न मुलुकहरुले पर्यटन क्षेत्रमा प्राप्त गरेको अनुभव आदान प्रदान एनआरएनएको पर्यटन प्रवर्द्धन समिति र नेपाल सरकारलाई विशेष कदम चाल्न अनुरोध गर्ने समेत गरेको छ । 

यसअघि बैठकमा दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले नेपाल र अफ्रिकी देशहरुको सम्बन्ध, आर्थित तथा सहकार्यको संभावनाको क्षेत्र, एनआरएनए जाम्बियाका अध्यक्ष विदुर खनालले पर्यटनको सहकार्य, अफ्रिकी कोषको विषयमा केन्याका अध्यक्ष आरसी बस्याल, मानव तस्करीको समस्या बारेमा युगाण्डाका अध्यक्ष रमेश कँडेल र एनआरएनए केन्द्रीय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत कार्कीले अफ्रिकामा एनआरएनको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यपत्रहरुमाथि एनआरएनका प्रमुख संरक्षक जीवा लामिछाने र पत्रकार मणि दाहालले टिप्पणी गरेका थिए ।


दार-ए–सलामका घोषणाहरु यस प्रकार रहेका छन  ।

१. यस बैठकले अफ्रिकी मुलुकहरुमा रोजगारी तथा व्यवसायमा क्षेत्रमा नेपालीको बढ्दै गएको उपस्थितिलाई ध्यान दिँदै सरकारले आफ्नो उपस्थिति यस महादेशमा बढाउन आवश्यक रहेको महसुश गरेको छ ।  त्यसका लागि पूर्व तथा पश्चिमी अफ्रिकी मुलुकलाई समेट्ने गरी एक- एक वटा राजदूतावास स्थापना गर्नुका साथै अफ्रिकाका विभिन्न मुलुकहरुमा अवैतानिक वाणिज्यदूत स्थापना गर्न प्रस्ताव गर्दछ । 

२. रोजगारीका लागि अफ्रिका आउने नेपालीहरुका लागि श्रम स्वीकृति, राहदानी नवीकरण, अन्य काजगातको सिफारिसका सम्बन्धमा सरकारी प्रक्रिया झन्झटिलो तथा अफ्ठ्यारो रहेकाले त्यसलाई सहज एवम् सुलभ बनाउन नेपाल सरकारसँग अनुरोध गर्दछ । 

३. पछिल्लो समयमा अफ्रिका क्षेत्रमा मानव तस्करले नेपालीहरुलाई अलपत्र पार्ने घटनाहरु बढेकाले त्यसको समाधानका लागि उचित कदम चल्न तथा आवश्यक संयन्त्र निर्माणका लागि सरकारसँग आग्रह गर्दछ । 

४. बैदेशिक रोजगारी तथा व्यवसायमा संलग्न भएर अफ्ठ्यारो परेका नेपाली र अलपत्र पर्ने नेपालीहरुको उद्दार तथा राहतका लागि स्थापना गरेको 'एनआरएए अफ्रिका आपत्कालीन राहत कोष'लाई वृद्धि गरि कम्तीमा १५ लाख रुपैया पुर्यााउने प्रतिवद्धता व्यक्त गर्दछ । 

५. नेपाली समुदाय रहेका तर एनआरएनए राष्ट्रिय समन्वय परिषद नभएका अफ्रिकाका विभिन्न देशमा राष्ट्रिय समन्वय परिषद स्थापना गर्ने तथा हाल कार्यरत राष्ट्रिय समन्वय परिषद्हरुलाई थप सक्रिय एवम् प्रभावकारी बनाउने प्रण गर्दछ । 

६. अफ्रिकाका विभिन्न मुलुकले पर्यटन क्षेत्रमा प्राप्त गरेको सफलताको अनुभव आदान प्रदान एवम् अफ्रिकामा नेपालको पर्यटन प्रवर्द्धनका लागि एनआरएनएको पर्यटन प्रवर्द्धन समिति तथा नेपाल सरकारलाई विशेष कदम चाल्न अनुरोध गर्दछ । 

७. दोस्रो अफ्रिका क्षेत्रीय बैठक सफलतापूर्वक सम्पन्न गर्न विशेष सहयोग गर्ने प्रिटोरियास्थित नेपाली राजदूतावास र महामहिम राजदूत अमृतबहादुर राई, आयोजक एनआरएनए तान्जानिया र सहभागी अतिथी तथा प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्दछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!