साउदीको जेलमा परेका थानेश्वर बचाउन ४५ लाख जुट्यो, यसरी परे जेल

Posted on: 03 Jan, 2018

पुस १९, काठमाडौं । निर्दोष भएर पनि साउदीको जेलमा अन्योलको जीवन बाँचिरहेका नवलपरासीका थानेश्वर अब नेपाल फर्कने भएका छन् । ४ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका थानेश्वर भुसाल अब नेपाल फर्किने भएका हुन्  । उनलाई जेलमुक्त गर्न थालिएको ब्लड मनी संकलन अभियान सफल भएको छ ।

विदेशमा अलपत्र नेपालीको उद्धारमा क्रियाशील संस्था प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को संयोजनमा ‘थानेश्वर भुसाल बचाउ अभियान’ सुरु भएको थियो । भुसालको उद्धारका लागि आवश्यक समितिले ४५ लाख ब्लड मनी संकलन गरेको हो ।

तश्विरमा: थानेश्वरकि आमा यमकला भुसाल ।

नवलपरासीको मध्यविन्दु नगरपालिका ८ घर भएका थानेश्वरको परिवार निकै गरिव छ । गरिबीलाई नै मेटाउन सवारी चालकका रुपमा उनी साउदी पुगेका थिए । तर, दुर्भाग्यबस अर्काको गल्तीका कारण भएको दुर्घटनामा अदालतले उनलाई जेलबाट छुट्न ४५ लाख ब्लड मनी माग्यो । संस्थाले थानेश्वरलाई जेलबाट छुटाउन ४५ लाख ८५ हजार रुपैयाँ जम्मा गरिसकेको छ । 

थानेश्वर बचाउ अभियानमा विभिन्न देशका एनआरएनएका शाखासहित विदेशमा रहेका नेपाली कामदारले सहयोग गरेका थिए । साउदी अरेबियासहित कुवेत, युएई, अस्ट्रेलिया, मलेसिया, कोरिया लगायतका देशबाट पनि ब्लड मनी संकलन भएको थियो ।

अभियानबाट जुटेको सबै रकम जम्मा भएपछी सरकारलाई उक्त रकम बुझाईने र सरकारले सम्बन्धित देशको नियमअनुसार ब्लड मनी स्वरुप प्रदान गरेपछि थानेस्वर जेलमुक्त हुनेछन्, उनि लगत्तै नेपाल आउनेछन् ।

थानेश्वर कसरी परे जेलमा ?

साउदी पुगेका थानेश्वर अहिले ३७ वर्षका छन् । गाडी चलाउँदै गर्दा उनको गाडी र अर्को गाडी ठोक्किएको थियो । दुई गाडीसँग अर्को गाडी पनि आएर चेप्पियो र २ जनाको ज्यान गयो । 

साउदीको अदालतले दुर्घटनामा आफैं पनि घाइते भएका थानेश्वरलाई दोषी ठहर गर्यो र पीडित परिवारलाई १ लाख ५० हजार रियाल अर्थात ४५ लाख रुपैयाँ ब्लडमनी स्वरुप क्षतिपूर्ति भराउन थानेश्वरका नाममा आदेश दियो । छोरा छुटाउन हार-गुहार गर्दैगर्दा यमकलाकी बुहारीले पनि घर छाडेर गइन् र अर्को बिहे गरेकी थिइन् । 

२०६८ साल असोज ६ गते साउदी गएका थानेश्वर भुसाल २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए । दुर्घटनामा पछि करिब १० महिना जेल परेका उनी जेलबाट छुटेपछि घर आउँन खोज्दा कम्पनीको साहूले घर आउन नदिई पुनः काममा लगाएको थियो । पुनः काम गरेर घर फर्कने बेला साउदीको प्रहरीले उनलाई सोही मुद्दामा पुनः पक्राउ गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!