हङकङमा एक नेपाली पक्राउ, पचास लाख डलर जरिवाना र जन्मकैद हुनसक्ने

Posted on: 05 Jun, 2018

जेठ २३, काठमाडौं । हङकङमा वेटरको काम गर्दै आएका एक नेपाली युवकलाई ३५ लाख हङकङ डलर (करिब पाँच करोड रुपैयाँ) बराबरको प्रतिबन्धित लागुपदार्थ कोकिन तस्करी गरेको आरोपमा पक्राउ गरिएको छ ।

हङकङ प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अधिकारीहरुले ती युवकलाई ओल्डबेली स्टि्रटबाट बिहीबार पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

हङकङको एक रेस्टुरेन्टमा वेटरको काम गर्ने ती युवकले झोलामा साढे तीन किलो कोकिन जस्तै देखिने वस्तु बोकेकाले उनलाई पक्राउ गरिएको जनाइएको छ । 

अधिकारीहरुले उनीमाथि लागुपदार्थ ओसारपसार गरेको आरोप लगाएका छन् । प्रहरीले उक्त अवैध लागुपदार्थको कारोबारमा संलग्न अन्यको खोजी गर्न थप अनुसन्धान गरिरहेको जनाएको छ ।

हङकङको कानूनअनुसार प्रतिबन्धित लागुपदार्थको ओसारपसार गर्नेलाई पचास लाख हङकङ डलर जरिवाना र जन्मकैद हुने व्यवस्था छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!