इटालीको पिस वेलमा नेपालको झण्डा फहराइयो

Posted on: 25 Jun, 2018

असार ११, काठमाडौँ | इटालीको ट्रेण्टो प्रदेशको ऐतिहासिक रोभेरेटो शहरस्थित बेल अफ द फलन भनिने घण्ट अर्थात मारिया डोलेन्स्मा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ । 

यही जुन २४ का दिन एक विशेष समारोहकाबीच पिस वेलको सामुन्ने नेपाली झण्डा फहराइएको जेनेभास्थित नेपाली राजदूतावासले आज एक विज्ञप्तिमार्फत जनाएको हो । 

उक्त समारोहमा नेपालको तर्फबाट इटालीका लागि गैरआवासीय राजदूत दीपक धिताल, पिस वेल फाउण्डेसनका प्रमुख संरक्षक सिनेटर अल्बर्टो रोबल लाई राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको थियो । 

पिस वेलको सामुन्ने नेपालको राष्ट्रिय गानसहित झण्डोत्तोलनपछि १०० पटक घण्टा बजाउनका साथै इटालीको राष्ट्रिय गान समेत बजाइएको थियो । 

नेपालको झण्डा दुई हप्तासम्म घण्टाको सामुन्ने छुट्टै फहराइने एवं तत्पश्चात स्थायी रुपमा अन्य मुलुकका झण्डासँगै राखिने जनाइएको छ । सो अवसरमा फाउण्डेशनका प्रमुख संरक्षक प्रोफेसर सिनेटरले मारिया डोलेन्समा झण्डा स्थापना गर्ने ९६ औँ मुलुकका रुपमा नेपाललाई स्वागत गर्दै शान्ति, भाइचारा र आपसी समझदारीका लागि उक्त स्थान सानो संयुक्त राष्ट्रसंघको रुपमा विकसित हुँदै गएको बताउनुभयो । 

उहाँले नेपाल र नेपालीप्रति इटाली जनतामा अत्यन्त ठूलो सद्भाव र मित्रता रहेको बताउँदै नेपालको झण्डा उक्त स्थानमा स्थापना भएबाट प्रतीकात्मक रुपमा दुई मुलुकका जनता अझै निकट भएको बताउनुभयो । 

राजदूत धितालले शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देशको तर्फबाट विश्व शान्ति र भाइचाराप्रति ऐक्यबद्धता जनाउने प्रतीकात्मक घण्ट भएको मिरावेल हिलमा नेपालको झण्डा स्थापित गर्न पाउँदा खुशी र गौरव अनुभव भएको बताउनुभयो । 

उहाँले नेपाल र इटालीबीच सरकारी तथा जनस्तरमा समेत विस्तार हुँदै आएका सम्बन्धका बारेमा प्रकाश पार्दै यसलाई थप गतिशील र पारस्परिक सहयोगमा आधारित बनाउन आह्वान गर्नुभयो । 

पिस फाउण्डेसनको तत्वावधानमा आयोजित उक्त कार्यक्रममा फाउण्डेशनका अध्यक्ष, ट्रेन्टो प्रान्तका लागि सरकारी कमिशनर, प्रान्तका अध्यक्ष र ट्रेन्टो शहरका उपमेयर लगायत करीब १५० जनाको उपस्थिति थियो । सो अवसरमा नेपाली समुदायको समेत उल्लेख्य उपस्थिति थियो । 

प्रथम विश्वयुद्धताका ट्रेण्टिनो युद्धमा मारिएका १२ देशका करिब २० हजार ज्ञातअज्ञात सैनिकको सम्झनामा सम्बन्धित मुलुकबाट प्राप्त तोपको काँस धातुबाट बनेको अजंगको घण्टलाई मारिया डोलेन्स् भनिन्छ । 

सन् १९२४ मा स्थापित विश्व शान्ति, सहिष्णुता र समझदारीको प्रतीक यस स्मारकमा ऐक्यबद्धता प्रदर्शन गर्दै नेपाललगायत ९६ मुलुकले हालसम्म आ–आफ्ना राष्ट्रिय झण्डा स्थापना गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!