शान्ति सेनामा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते

Posted on: 17 Sep, 2018

असोज १, काठमाडौँ | संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ सिद्धिबक्स गण (शा से) चौथो डफ्फामा कार्यरत एक सैनिक जवान गोली लागेर घाइते भएका छन् । 

आइतबार बिहान दक्षिण सुडानको पिपुल्स लिवरेशन आर्मी ं(एसपिएलए)का तर्फबाट चलाइएको गोली लागि घाइते भएका जवानको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

उनको राजधानी जुवास्थित अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जानकारी दिएको छ । यई भन्ने स्थानमा तैनाथ नेपाली सेनाको कम्पनी अपरेटिङ वेशबाट दैनिकरुपमा पानी ढुवानी गर्न खटिएको टोलीमाथि फर्कने क्रममा गोली प्रहार हुँदा सैनिक जवान घाइते भएको बताइएको छ । ती घाइते सैनिकको नाम भने नेपाली सेनाले उल्लेख गरेको छैन । सन् १९५८ देखि द्वन्द्वग्रस्त मुलुकमा विश्व शान्ति स्थापनाका लागि खटिएको नेपाली सेनाले ४२ वटा देशमा शान्ति स्थापनाका लागि योगदान पुर्याइसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!