प्रधानमन्त्री ओली दोहामा

Posted on: 04 Oct, 2018

असोज १८, दोहा | प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई तथा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा न्यूयोर्कबाट काठमाडौँतर्फ जाने क्रममा आज कतारको दोहा आइपुग्नुभयो । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको छ । 

उहाँलाई दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका कार्यवाहक राजदूत मणिप्रसाद भट्टराईले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीले न्यूयोर्कमा राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो भने सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँले सान होजेमै शान्ति विश्वविद्यालयले (युनिभर्सिटी फर पिस) प्रदान गरेको मानार्थ डाक्टरको उपाधि स्वीकार गर्नुभएको थियो । 

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उहाँका प्रमुख सल्लाहकार विष्णु रिमाल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!