जब ३ वर्षीय बालक ३० फिट गहिरो इनारमा खसे !

Posted on: 05 Oct, 2018

असोज १९, काठमाण्डौ | १२ वर्षअघि कुरुक्षेत्रमा ५ वर्षीय बालकलाई इनारबाट उद्धार गरे जस्तै घटना हरियणाको अम्बालामा दोहोरिएको छ ।

यहाँ बिहीबार ३ वर्षीय एक बालक ३० फिट गहिरो इनारमा खसेपछि परिवार र छिमेकी आत्तिए । स्थानीयले प्रहरीलाई खबर गरे । तर प्रहरी आउनुअघि नै अर्का एक किसान रणधीर सिंहले बच्चाको सकुसल उद्धार गरेका छन् ।

डोरीको सहायतामा रणधीरले बालक कर्णलाई इनारबाट कठिन र चमत्कारिक रुपमा उद्धार गरे । यतिसम्म कि, ३० फिट गहिरो इनारबाट कर्णलाई उद्धार गर्न ४५ मिनेट लागेको थियो । बालककी आमा उनलाई छेउमै राखेर छिमेकीको खेतमा घाँस काटिरहेकी थिइन् । बिहान सवा १० बजेतिर बालक खेल्दै १२ इन्च फराकिलो इनारमा पुगेछन् । त्यही उनी ३० फिट गहिराइमा खसे ।

उद्धारकर्ता रणधीरका अनुसार इनारमा खसेका बालकको खुट्टातर्फको भाग इनारभित्र हिलोमा फसेको थियो । र घाँटीसम्मै पानी थियो । उद्धारपछि बालकलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । चिकित्सकका अनुसार अरु केही मिनेटसम्म बालकको उद्धार गर्न नसकेको भए अवस्था जटिल हुनसक्थ्यो । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!