राष्ट्रपति भण्डारी पोल्याण्डमा

Posted on: 02 Dec, 2018

श्यामल अधिकारी | मङ्सिर १६, वार्सा/पोल्याण्ड (रासस) | राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुग्नुभयो । 

उहाँलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । 

उहाँका साथ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी र रामसहाय यादव पनि हुनुहुन्छ । परराष्ट्र मन्त्रालय, वातावरण र सञ्चार क्षेत्रका विज्ञलगायतका उच्च अधिकारी पनि यसैक्रममा वार्सा आइपुग्नुभएको छ । 

राष्ट्रपति भण्डारीले विश्वका १९६ मुलुकका सहभागीलाई जलवायु परिवर्तनसम्बन्धी नेपालको आधिकारिक धारणा बताउनुहुने कार्यक्रम रहेको छ । कार्यक्रमकै बीच राष्ट्रपतिले पोल्याण्डका समकक्षी सेवास्टियन दुदासँग भेटवार्तासमेत गर्नुहुनेछ । 

यसअघि राष्ट्रपति भण्डारी कतारको राजधानी दोहा पुग्नुहुँदा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत गायत्रीबहादुर पौडेललगायतका अधिकारीले स्वागत गर्नुभएको थियो । 


माथिको तश्वीरमा: संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औं सम्मेलनमा भाग लिन शनिबार पोल्याण्डतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अभिवादन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः रत्न श्रेष्ठ, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!