म्याग्दीका एक जनप्रतिनिधिद्वारा पारिश्रमिकबाट विद्यालयलाई सहयोग

Posted on: 05 Dec, 2018

मङ्सिर १९, म्याग्दी | म्याग्दीका एक जनप्रतिनिधिले आफूले पाएको तलब दुर्गम गाउँको विद्यालयलाई सहयोग गर्नुभएको छ । 

मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वडा नं ५ अर्मनको सिर्कुममा रहेको किसानी आधारभूत विद्यालयलाई सहयोग गर्नुभएको हो । विद्यालयमा मङ्गलबार आयोजित समारोहमा अध्यक्ष रोकाले रु तीन लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । 

अध्यक्ष रोकाले उपलब्ध गराएको रकम भवन निर्माणका लागि १५ आना जग्गा खरिद गर्दा लागेको ऋण तिरिने प्रअ रेशम सापकोटाले बताउनुभयो । जग्गा किन्दा लागेको ऋण तिर्न नसकेर समस्यामा परेका सिर्कुमवासीलाई सहयोगले राहत मिलेको प्रअ सापकोटाले बताउनुभयो । 

“चुनावमा सिर्कुमवासीसँग व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयन गरेको हुँ”, अध्यक्ष रोकाले भन्नुभयो । उहाँले आगामी दिनमा पनि तलबबापत प्राप्त हुने सुविधा समस्यामा परेका सामुदायिक विद्यालयलाई सहयोग गर्ने घोषणा गर्नुभयो । 

शिक्षा विकास तथा समन्वय एकाइको रु १६ लाख अनुदानमा निर्माण भएको दुईकोठे भवनको उद्घाटनका अवसरमा गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले अध्यक्ष रोकालाई सम्मान गर्नुभएको थियो । 

मन्त्री पुनले दुर्गम र ग्रामीण क्षेत्रमा आवासीय विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले निजी स्रोतबाट सञ्चालित सामुदायिक विद्यालयको समस्या समाधानका लागि दरबन्दी मिलानको प्रक्रिया अघि बढाएको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!