बैतडीमा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष भट्टको मृत्यु

Posted on: 20 Jun, 2019

असार ५, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहनुभएका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका भट्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

 वडाध्यक्ष भट्ट वडा कार्यालयबाट घर जाँदै गर्दा गत बुधबार वडा नं ४ को चक्कीबगड भन्ने स्थानमा बा२ब २५२ नंको मोटरसाइकल दुर्घटनामा पर्नुभएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भट्टको जिल्लामा उपचार हुन नसक्दा थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको थियो । कोहलपुर मेडिकल कलेजमा सघन उपचारकक्ष (आइसियू)  राखेर उपचार हुँदाहँुदै भट्टको बिहान ३ बजे मृत्यु भएको हो ।

 यसैबीच वडाध्यक्ष तथा नगर प्रवक्ताको निधन भएपछि पुर्चौडी नगरपालिकाले आज शोकसभा पारित गर्दै आज नगरपालिकाका सम्पूर्ण काम स्थगन गरिने नगरप्रमुख रणबहादुर कुँवरले बताउनुभयो । मृतक भट्ट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बैतडी जिल्ला कमिटी सदस्यसमेत हुनुहुन्थ्यो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!