वर्षमा ५१२ किशोरीलाई बेचिनबाट घर फर्काइयो

Posted on: 29 Jul, 2019

साउन १३, कपिलबस्तु | मानव बेचबिखनविरुद्ध कपिलवस्तुमा विभिन्न सङ्घसंस्थाले सीमा क्षेत्रमा निगरानी गर्दै आए पनि बेचबिखनको घटनामा भने अझै  कमी आएको छैन । सङ्घसंस्थाका तथ्याङ्कलाई नियाँल्दा दिनप्रतिदिन बेचबिखनका घटना बढ्दै गएको पाइएको हो ।

मानव बेचबिखनविरुद्ध जिल्लाको कृष्णनगरमा शान्ति पुनस्र्थापना गृह (पिआरसी) र आफन्त नेपालले सीमामा निगरानी गर्दै आएका छन् । ती संस्थाको विगत तीन वर्षको प्रतिवेदन हेर्दा मान बेचबिखनका घटना वृद्धि भइरहेको पाइएको हो ।

आव २०७३-७४ मा २३५ किशोरीको उद्धार गरेका ती संस्थाले आव २०७४-७५ मा २७९ किशोरीलाई भारत जाने क्रममा घर फर्काएका थिए  तर आर्थिक वर्ष २०७५-७६ को तथ्याङ्कमा ती वर्षको गत वर्षभन्दा दोब्बर ५१२ किशोरीलाई ती संस्थाले बेचिनबाट जोगाएका हुन् । दुवै संस्थाले गत वर्ष आठ हजार २४७ किशोरीलाई मानव बेचबिखनबारे परामर्शसमेत दिनाका साथै शान्ति पुनस्र्थापना गृहले १० किशोरीलाई भारतबाट नेपाल फर्काएको थियो । 

उक्त गृहले गत वर्ष २५५ किशोरीलाई उद्धार गरेकामा १२५ लाई अभिभावक बोलाई जिम्मा लगाएको र १२८ किशोरीलाई भने प्रहरीको जिम्मामा परिवारसँग पुनर्मिलन गराएको उक्त संस्थाका संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार दुई किशोरीलाई अन्य संस्थाको जिम्मा लगाइएको थियो । पिआरसीले गत वर्ष चार हजार १३८ जनालाई परामर्श दिएको जनाएको छ । बेचबिखनमा परेकामध्ये पाँच युवतीले बेचबिखन तथा ओसारपसारविरुद्ध प्रहरीमा मुद्दा दायर गरेका थिए । 

यता मानव बेचबिखनविरुद्ध एक दशकदेखि सीमा निगरानी गर्दै आएको आफन्त नेपालले गत वर्ष २५७ किशोरीलाई बेचिनबाट जोगाएको थियो । जिल्ला संयोजक केसर विश्वकर्माका अनुसार १२१ किशोरीलाई परिवारसँग पुनर्मिलन गराइएको थियो भने १२२ किशोरीलाई प्रहरीको जिम्मा लगाई सोधपुछपछि घर फर्काइएको थियो । उद्धार गरिएका किशोरीमध्ये १४ जनालाई चितवनस्थित सुरक्षित आवासगृह पठाइएको थियो । उक्त संस्थाले उद्धार गरेका दुई किशोरीले विचौलियाविरुद्ध मुद्दा दायर गरेको संयोजक विश्वकर्माको भनाइ थियो । उक्त संस्थाले आव २०७५÷७६ मा चार हजार १०९ लाई सीमा निगरानीका क्रममा बेचबिखनविरुद्ध परामर्श दिएको थियो । 

अभिभावकको सल्लाहबिना वैदेशिक रोजगारी वा विवाहको नाटक देखाई गैरकानूनी रुपमा किशोरीहरुलाई विचौलियाले भारत तथा तेस्रो मुलुक छिराउने गरेको ती संस्थाको प्रतिवेदनमा उल्लेख छ । 

जिल्लाको कृष्णनगर क्षेत्रमा कार्यरत संस्थाहरु सीमा नाका, लिङ्कगेट र यात्रुगेटमा बिहानदेखि बेलुकासम्म निगरानीमा सक्रिय हुँदै आएका छन् । मानव बेचबिखनका घटनामा न्यूनीकरण ल्याउन इलाका कृष्णनगरस्थित प्रहरी कार्यालय, लिङ्कगेटस्थित अस्थायी प्रहरी चौकी र सशस्त्र प्रहरीको ती संस्थालाई सहयोग पु¥याउँदै आएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!