एनआरएनएले अर्को सम्मेलन काठमाडौँमा नगर्ने, घर-घरबाटै मतदानको व्यवस्था हुने

Posted on: 18 Oct, 2019

कात्तिक १, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए)का नव निर्वाचित अध्यक्ष कुमार पन्तले अब काठमाडौंमा सम्मेलन नगर्ने घोषणा गरेका छन् । पन्तले प्रविधिको जमानामा लाइन लागेर मतदान नगर्ने भन्दै घरघरबाट मतदान गर्न व्यवस्था मिलाउने घोषणा गरेका हुन् । 

अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पन्तले राजनीतिक रंग देखिन थालेको भन्दै अब एनआरएनएको सम्मेलन काठमाडौंमा नगर्ने बताए ।

उनले भने, ‘आजको प्रविधिको जमानामा काठमाडौं आएर लाइन लागेर मतदान गर्न आवश्यक छैन । घरघरबाट मतदान गर्न पाउने व्यवस्था गर्नेछु ।’ उनले चुनावी घोषणापत्रअनुसार संघको सदस्यता निःशुल्क बनाउने बताए ।

साथै गैरआवासीय नेपाली संघलाई थप एकतावद्ध बनाउने र कसैलाई पनि काखा र पाखा नगर्ने पन्तले प्रतिवद्धता जनाए । उनले नेपाललाई अदक्ष कामदार विदेश पठाउने सूचीबाट हटाउन एनआरएनको नयाँ नेतृत्वले काम शुरु गर्ने बताए । अहिले नेपाल अदक्ष कामदार विदेश पठाउने देशको रुपमा चिनिएको छ, पन्तले भने 'नेपाल सरकार र प्रदेश सरकारसंग मिलेर कामदारलाई तालिम उपलब्ध गराई दक्ष बनाएर मात्र विदेश पठाउन सरकारलाई सहयोग गर्छौं ।'

संघको निर्वाचनमा एक पक्षको मात्र जित भएको छैन, उनले भने 'सिंगो एनआरएनको जित भएको हो, अब सबै पक्षलाई मिलाएर चुनावी घोषणापत्र अनुरुपका काम तत्काल शुरु गर्छौं । 

एनआरएनएको नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन भएको हो ।  अध्यक्षमा कुमार पन्तले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् । पन्तले एक हजार २१७ मत ल्याए भने आचार्यले एक हजार ७० मत ल्याएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!