यूएईमा कोरोना लागेका २ जना नेपाली 'निको भए'

Posted on: 23 Mar, 2020

चैत १०, काठमाडौँ | यूएईको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित २ जना नेपाली नागरिक निको भएको जनाएको छ ।

आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख रहेकी डाक्टर फरिदा अल होसेनीले सोमबार आयोजित पत्रकार सम्मेलनमा २ जना नेपाली नागरिकसहित ३ जना व्यक्ति निको भएको जनाएको स्थानीय सञ्‍चारमाध्यम द नेसनलले जनाएको छ। 

निको हुने अर्को एक जना भने इरानी नागरिक रहेको डाक्टर फरिदाले जानकारी दिएकी छिन् । योस हित यूएईमा कोभिड–१९ बाट संक्रमित भएका ४१ जनाले स्वास्थ्यलाभ लिएका छन् ।

साथै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि यूएई सरकार दृढताका साथ लागेको र संक्रमितहरुको मुलुकमा रहेका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि डाक्टर फरिदाले जानकारी दिइन्।

त्यस्तै सोमबार यूएईमा थप ४५ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । थप संक्रमण देखिएका व्यक्तिहरु विभिन्न १८ मुलुकका रहेको पनि डाक्टर फरिदाले जानकारी दिइन् । यूएईका ७, भारतका ७, बंगलादेशका तीन, क्यानडाका २, अमेरिका र पाकिस्तानका ४–४ जना, फिलिपिन्स, इराक, ट्युनिसिया, सिरिया, कुवेत, इटाली, पेरु, इथियोपिया, लेबनान, सोमालिया, बेलायत, सुडान, आयरल्यान्ड, रुस, मोन्टेनेग्रो, फ्रान्स र पोल्यान्डका एक–एक जनामा संक्रमण देखिएको उनले जानकारी दिइन् । योसँगै यूएईका कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १९८ पुगेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!