मलेसियामा एक नेपालीको मृत्यु

Posted on: 03 May, 2020

वैशाख २१, काठमाडौँ | सप्तरीबाट रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी  दिए ।

परियोजना संयोजक यादवका अनुसार मलेसियाको सलेङ्गर जिल्लास्थित आई ४१२ कम्पनीमा कार्यरत मण्डल शनिबार कम्पनीमा काम गर्दै गर्दा खाना खाने क्रममा अचानक उनी बेहोस भई ढलेका थिए । 

सो क्रममा उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको जनाइएको छ । तीन वर्षदेखि मलेशियामा उनी कार्यरत थिए । 

चार दिनअगाडि मात्रै मलेसियामै सप्तरीको बलान बिहुल गाउँपालिका–२ मलहनियाँ निवासी इन्दल यादवले आत्महत्या गरेका थिए । यादव तीन महिनाअघि मात्र वैदेशिक रोजगारीका लागि मलेसिया गएको थियो ।

यस्तै डेढ महिनाअघि सप्तरीको राजविराज–१० बिरौल निवासी २५ वर्षीय विष्णुदेव मण्डलको पनि मलेशियामै मृत्यु भएको छ । 

गत चैत २ गते राति एक्कासि उनको पेट दुखेपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । यता तीनै जनाको शव नेपाल ल्याउनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य भइरहेको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!