साउदीमा लकडाउन खुकुलो बनाइँदै, जून २१ पछिको मुलुकलाई सामान्य अवस्थामा लैजाने

Posted on: 27 May, 2020

योगेन्द्र योगी | जेठ १४, दोहा | साउदी सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि विगत दुई महिनादेखि लगाइएको कर्फ्यु र लकडाउलाई ईद पर्व सकिएपछि खुकुलो बनाउने तयारी गरेको साउदीस्थित नेपाली दूताबासले जनाएको छ ।

दूताबासका अनुसार विभिन्न ३ चरणमा विभाजन गरी लकडाउन खुकुलो बनाउँदै लैजाने सरकारले निणर्य गरेको जनाएको छ ।

साउदी प्रेस एजेन्सीका अनुसार पहिलो चरण मे २८ देखि मे ३०, सम्ममा मक्का बाहेका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि अपरान्ह ३ बजेसम्म खुल्ला  गरिएको छ । बाँकी समय भने लकडाउन हुनेछ । 

यसअघिको लकडाउनमा प्रान्त र क्षेत्रहरुबीचको आवागमन बन्द गरिएको थियो । यस अवधिमा खुद्रा तथा होलसेल पसलहरु तथा मलहरु पुनः संचालनमा आउने साउदीको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

त्यस्तै सामाजिक दुरी कायम गर्नुपर्ने ब्युटिपार्लर, सैलुन, स्पोर्ट क्लब, हेल्थ क्लब, मनोरञ्जनका क्षेत्र, सिनेमा हल भने बन्द रहने छन् ।

दोस्रो चरणका रुपमा निर्धारण गरिएको मे ३१ देखि जून २० मा मक्का बाहेका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुला गरिएको छ ।

साथै, कोराना संक्रमण नियन्त्रणसम्बन्धी सबै गाइडलाइनहरुलाई पूर्ण पालना गर्ने गरी मन्त्रालय, सरकारी निकायहरु र निजी क्षेत्रका कम्पनीहरुमा कर्मचारीको उपस्थितिलाई पनि अनुमति दिइएको छ ।

सूचना अनुसार क्षेत्र र प्रान्तबीच चल्ने सार्वजनिक यातायातका साधनहरु भने संचालनमा आउने छैनन् । तर अन्तराष्ट्रिय उडानहरू भने अर्को सूचना नभए सम्मका लागि स्थगित नै रहने बुझिएको छ ।

यसैगरी यस अवधिमा रेष्टुरेण्ट र फुड तथा बेभरेज क्याफेहरु खुल्ने भएका छन् । दोस्रो चरणमा पनि सामाजिक दुरी कायम गर्नुपर्ने ब्युटिपार्लर, सैलुन, स्पोर्ट क्लब, हेल्थ क्लब, मनोरञ्जनका क्षेत्र, सिनेमा हललाई खोल्ने अनुमति दिइने छैन ।

तेस्रो र अन्तिम चरणका रुपमा विभाजन गरिएको जून २१ पछिको अवधिमा सरकारले आर्थिक गतिविधिका सबै क्षेत्रहरु खुल्ला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा मुलुकलाई लैजाने योजना बनाएको साउदी प्रेसले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!