ह्वाईट हाउस अगाडि विध्वंश, अमेरिकी राष्ट्रपति ट्रम्पलाई बंकरमा लुकाइयो

Posted on: 01 Jun, 2020

जेठ १९, काठमाडौं । लगातार प्रदर्शन गरिरहेका अमेरिकीहरुले छैटो दिन अमेरिकी राष्ट्रपति भवन ह्वाईट हाउस अगाडि विध्वंश मच्चाएका छन् । राष्ट्रपति कार्यालय ह्वाईट हाउस अगाडि रहेको सेन्ट जोन चर्चमा आगो लगाउँदै प्रदर्शनकारीहरुले नाराबाजी गरिरहँदा आगोको मुस्लो र धुवा राष्ट्रपति कार्यालय ह्वाईट हाउस ढाकेको थियो । 

वासिङटनडिसीस्थित ह्वाईट हाउस अगाडिको सडक आन्दोलनकारीहरुले कब्जामा लिएर आगो बालिरहेका छन् भने वरपरका केही घरहरुमा समेत आगजनी गरेका छन् । न्यूयोर्क टाईम्सले ह्वाईट हाउस अगाडि गरेको प्रदर्शनका कारण उठेको कालो धुवाको मुस्लोले अमेरिकी राष्ट्रपति भवन ढाकेको उल्लेख गर्दै अमेरिकी प्रहरीको सामन्तवादका विरुद्धमा जनताले नयाँ विद्रोह उठाएको उल्लेख गरेको छ ।


स्थिति नियन्त्रण बाहिर जानसक्ने भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाईट हाउस पछाडि रहेको बंकर (जहाँ युद्धका समयमा अमेरिकी राष्ट्रपति लुक्ने गर्दथे) मा पुर्याइएको छ । अमेरिकी सञ्चार माध्यम फक्स न्यूजले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाको कारण बंकरमा पुर्याइएको जनाएको छ । त्यस्तै सिएनएनले पनि आइतबार राति अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाईट हाउसभित्रै रहेको बंकरमा लुकेको उल्लेख गरेको छ ।

अमेरिकाभरि फैलिएको विध्वंशले कोरोना रोगको उपचार तथा रोकथाम समेत प्रभावित भएको छ । कोरोनाकै कारण घरभित्र थुनिएर फुर्सदिला भएका अमेरिकीहरु रंगभेद विरुद्धमा विगत एक सातादेखि श्रृंखलाबद्ध प्रदर्शन गर्दै आएका छन् । गत सोमबार काला जातिका मानिस जर्ज फ्लोएडको प्रहरीले बीच सडकमै घाँटीमा घुँडाले थिचेर हत्या गरेपछि गोरा र काला दुवै जातिका मानिसहरु प्रहरी ज्यादती, न्याय र शान्तिको माग गर्दै सकडमा विध्वंश मच्चाएका हुन् ।

अमेरिकाका ३० राज्यमा भएको विध्वंशमा कफ्र्यु तोडेर प्रदर्शन तथा आगजनिहरु गरिएका छन् । कैयौं स्टोर, सरकारी भवन, प्रहरी कार्यालय तथा सयौं प्रहरी भ्याट तोडफोड तथा आगजनी गरिएका छन् । सो क्रममा आधा दर्जनभन्दा बढिको मृत्यु भइसकेको छ । आन्दोलनकारीहरुले प्रहरीमाथि निर्घात कुटपिट गर्न थालेपछि कैंयौं राज्यको सेनाका बख्तरबन्द गाडीहरु गुडेका छन् भने सैनिक हेलिकोप्टर आकाशमा घुम्न थालेका छन् । (एजेन्सीहरु)


यस बिषयमा तपाइको प्रतिक्रिया...!