नेपाली श्रमिकको समस्या लिएर एनआरएनए र संयुक्त राष्ट्र संघको आइएमओ बीच छलफल

Posted on: 11 Jun, 2020

जेठ २९, लन्डन। कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा अलपत्र परेका नेपाली श्रमिकको समस्यालाई लिएर गैरआवासीय नेपाली संघले संयुक्त राष्ट्र संघमा छलफल गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीका अनुसार राष्ट्र संघअन्तरगतको इन्टरनेश्नल अर्गनाइजेशन फर माइग्रेसन (आइएमओ) सँग संघका अध्यक्ष कुमार पन्तसहितको टोलीले छलफल गरेको हो ।

बुधवार भिडियो कन्फ्रेन्समार्फत् भएको छलफलमा राष्ट्र संघअन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्दारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन् ।लान्डाले कोरोना भाइरसको संक्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ्ग सेन्टरसम्म लैजानसमेत सहयोग गर्न सकिने बताएकी थिइन् ।

आइएमओले विश्वभरिका माग्रेन्ट श्रमिकका लागि सहयोग गर्दै आएको स्मरण गर्दै उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।झन्डै दुई घन्टा लामो छलफलमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघ र कोभिड–१९ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

डा. शर्माले संघको भूमिका र कोभिड–१९ को प्रभावमा परेका नेपालीका बारेमा आ–आफ्ना भनाइ राख्दै संयुक्त राष्ट्रसंघका सबै पक्षलाई सहयोगको लागि आग्रह गरेका थिए । झन्डै ८० लाख नेपाली विदेशमा रहेको बताउँदै डा. शर्माले आइएमओ र संघबीच धेरै समान अजेन्डा रहेको बताएका थिए ।

उनले आइएओसँग नेपाल फर्किएका श्रमिकको पुनस्र्थापना, कार्य क्षमता संकलन लगायत अन्य धेरै विषयमा संयुक्त रुपमा काम गर्न सकिने बताएका थिए ।  बैठकमा सांसद गंगालाल तुलाधारले कोभिड–१९ ले नेपालमा पारेको प्रभावको विषयमा जानकारी गराएका थिए । संघअन्तरगतको एनआरएनए फाउन्डेशन परियोजना प्रमुख एकनाथ खतिवडाले बैठकको समन्वयन गरेका थिए ।

गैरआवासीय नेपाली संघका अनुसार आइएमओ प्रमुख लान्डाले तत्काल दुई संस्थाबीच समाधान धारणा तय गरी सम्झौता (एमओयु) गरेर अघि बढ्न सकिने बताएकी थिइन् ।नेपालले सन् २००६ मा इन्टरनेश्नल अर्गनाइजेशन फर माईग्रेसनको सदस्यता लिएपछि सो संस्था सन् २००७ देखि नेपालमा आप्रवासीहरुको हक र हितको लागि सक्रिय छ ।

आइएमओले नेपालमा २०७२ मा भूकम्प गएको बेला देशका विभिन्न भागमा स्वास्थ्य शिविर सञ्चालन गरेर पीडितलाई सहयोग गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!