विदेशबाट स्वदेश फिर्ताको विषयमा चौतर्फि विरोध भएपछि सरकारको यस्तो निर्णय

Posted on: 12 Jun, 2020

जेठ ३०, काठमाडौँ | विदेशबाट स्वदेश फिर्ताको विषयमा चौतर्फि विरोध भएपछि सरकारले सस्तो भाडादरमा दुतावास आफैले संयोजन गरेर नेपालीहरुलाई स्वदेश फर्काउन सक्ने निर्णय गरेको छ । आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि सरकारले नेपालीलाई आफ्नो देश फिर्ता ल्याउनको लागि स्वदेशका एयरलाइन्सलाई पहिलो प्राथमिकता दिएर बिदेशी एयरलाइन्सलाई समेत उडान भर्न पाउने अनुमति दिएको थियो । सरकारको यसअघिको निर्णय अनुसार पहिलो चरणमा ३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने तय गरिएको थियो । जस मध्ये नेपाल एयरलाइन्सले २४ उडान, हिमालय एयरलाइन्सले १९ उडान र बाँकी २४ उडान विदेशी जहाजले भर्ने निर्णय भएको थियो ।

तर यस विषयमा चौतर्फी आलोचना र विरोध तथा दुतावास आफैले पठाएको अवस्थामा कम शुल्कमै नेपाल ल्याउन सक्ने देखिएपछि सरकार आफ्नै निर्णयबाट पछि हटेको छ । तोकिएको भाडादर निकै महँगो भएको भन्दै चौतर्फि विरोध भएपछि सिसिएमसीले दुतावासको संयोजनमा सस्तो उडान हुनेगरी जुनसुकै एयरलाइन्सबाट नेपालीको उद्धार गरी स्वदेश ल्याउन सकिने व्यवस्था गरेको छ ।

पछिल्लो निर्णयसंगै दुतावासले सरकारले तोकेको भन्दा न्यून शुल्कमा नेपालीहरु नेपाल फिर्ता हुनसक्ने भएका छन् । 

दुतावासको पहलमा टिकट खर्च सरकारले तोकेभन्दा २५ हजार सस्तो 

ओमान स्थित नेपाली दूतावासले सरकारले तोकेभन्दा कम शुल्कमा आफ्ना नागरिकलाई स्वदेश फर्काउने जनाएको छ । दूतावासले विदेशमा अलपत्र परेका नागरिकलाई सरकारले तोकेभन्दा कम शुल्कमा स्वदेश फर्काउने भएको हो । 

सरकारले ओमानबाट नेपालको भाडा करिब ६१ हजार नेपाली रुपैयाँ तोकेको छ । तर, दूतावासले समस्यामा परेका नेपालीले त्यति महँगो रकम तिर्न नसक्ने भन्दै ११५ ओमानी रियलमा नेपाल ल्याउने भएको हो । यो रकम नेपाली रु ३६ हजार हुन्छ । ओमानस्थित दुतावासले सरकारले तोकेको भन्दा २५ हजार सस्तोमा कामदारलाई नेपाल फिर्ता ल्याउने जनाएपछि नेपालीहरुले दुतावासलाइ धन्यवाद दिएका छन् । ओमानबाट असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश फर्कँदैछन् । ओमानमा समस्यामा परि स्वदेश फिर्ता हुन चाहने नेपालीहरुको लागि असार १, ४ र ७ गते उडान हुने तय भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!