विदेशमा कोरोनाबाट १ सय ३० नेपालीको मृत्यु, १७ हजारमा सङ्क्रमण : एनआरएनए

Posted on: 21 Jun, 2020

असार ७, काठमाण्डौ।  विभिन्न देशमा रहेका १ सय ३० जना नेपालीको कारोनाको कारण ज्यान गएको छ । अघिल्लो हप्ता कोरोना सङ्क्रमणको कारण कोही पनि नेपालीको ज्यान नगए पनि यो हप्ता कतारमा थप तीन नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । गएको ९ हप्तामा विभिन्न देशमा रहेका १ सय ३० नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।

अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो हप्ता विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना सङ्क्रमणबाट निको भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना सङ्क्रमणबाट मुक्त भएका हुन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार अहिलेसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । संयोजक डा. सापकोटाका अनुसार यही साता अफ्रिकी देशमा रहेका ४ जना नेपालीमासमेत कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!