युरोपमा कार बिक्री २५ प्रतिशतले घट्यो

Posted on: 23 Jun, 2020

असार ९, पेरिस, ९ असार (रासस–एएफपी) । कोरोनाभाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । युरोपेली कार उद्योग समूहले कार उत्पादन कारखानाले ठूलो आर्थिक संकटको सामना गर्न लागेको जनाएको छ । 

युरोपेली अटोमोबाइल उत्पादक संघ (एसीइए) ले युरोपेली युनियन र सदस्य राष्ट्रका सरकारहरुलाई उद्योग बचाउन र रोजगारी गुम्न नदिने परिस्थिति निर्माण गर्न पनि आह्वान गरेको छ । 

युरोपमा कार बिक्रीमा व्यापक गिरावट आउने जनाउँदै एसीइएले जारी गरेको विज्ञप्तिमा सन् २०१९ मा करिब १ करोड २८ लाख थान कार बिक्री भएकामा यस वर्ष सन् २०२० मा करिब ३० लाख थान कार बिक्री घट्ने उल्लेख छ । अर्थात् यस वर्ष करिब ९६ लाख थान कार मात्र बिक्री हुनेछन् । 

यस वर्ष, कोरोनाभाइरस महामारी रोक्न जारी गरिएका लकडाउन र प्रतिबन्धहरुको असरका कारण कार बजार करिब ४१.५ प्रतिशतले खुम्चिएको छ । तर एसीइएले प्रतिबन्धहरु खुकुलो हुन थालेकाले परिस्थितिमा केही सुधार हुने अपेक्षा राखिएको जनाएको छ । 

एसीइएले युरोपको अटोमोबाइल क्षेत्रले धेरैपछि असामान्य परिस्थितिको सामना गर्नु परेको जनाएको छ । यी नकारात्मक असरलाई युरोपेली युनियन र सरकारहरुले राजनीतिक र आर्थिक मद्दतका आधारमा मिलेर मात्र हल गर्न सक्ने इसीइएले बताएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!