साउदी राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषदको अध्यक्षता

Posted on: 22 Jul, 2020

साउन ७, रियाद | (रासस–एएफपी) | बिरामी भएर अस्पतालमा उपचार गराइरहनु भएका साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गर्नु भएको छ । 

साउदी प्रेस एजेन्सी (एसपिए) का अनुसार साउदी राजा पित्तथैली सुन्निएपछि गत सोमबार किङ फैजल विशिष्टीकृत अस्पतालमा भर्ना हुनुभएको थियो । राजा सल्मानका लागि अस्पतालमा विशेष कक्षको व्यवस्था पनि गरिएको छ जहाँ भर्चुअल बैठकका लागि आवश्यक विद्युतीय सामग्रीहरुको प्रबन्ध गरिएको छ । 

राजा सल्मानले आफ्नो स्वास्थ्यप्रति सदभाव दर्शाउने सबैप्रति आभार प्रकट गर्नु भएको पनि एसपिएले जनाएको छ । 

मन्त्रिपरिषद बैठकमा मक्कामा हुने आगामी हज तिर्थयात्राको व्यवस्थापनका बारेमा छलफल भएको थियो । कोरोनाभाइरस महामारीका कारण यस वर्ष हज तिर्थयात्रामा सहभागी हुनेहरुको संख्यामा व्यापक कटौती गरिएको छ । 

साउदी अधिकारीहरुले साउदी अरेबिया निवासी करिब एक हजार व्यक्तिलाई मात्र मक्का प्रवेशको अनुमति दिइने यसअघि प्रस्ताव गरेका थिए । तर हाल यसमा संशोधन गरी करिब १० हजारलाई हजको अनुमति दिइन लागेको साउदी संचार माध्यमहरुले जनाएका छन् ।

विगतमा विश्वभरबाट हरेक वर्ष करिब २५ लाख व्यक्तिले मक्कामा हज गर्ने गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!