ओमानबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेले दूतावास निवेदन पेस गर्नुपर्ने (फारम सहित)

Posted on: 31 Jul, 2020

योगेन्द्र योगी | साउन १६, दोहा | कोरोनाका कारण ओमानमा रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारहरूलाई विभिन्न निकायहरूसँगको समन्वयमा उद्धार गरी स्वदेश फिर्ता गर्ने कार्य जारी रहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यसै सम्बन्धमा समस्यामा परेका नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता हुन सहयोग गर्ने अभिप्रायले नेपाल सरकारले "कोभिड-१९ को विश्वव्यापी सङ्क्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदशे फिर्ता गर्ने सम्बन्धी निर्देशिका"  जारी गरी नेपाल फिर्ता सम्बन्धी सहयोगका लागि केही मापदण्डहरू तोकेको छ। 

सोही मापदण्डले समेट्ने नेपाली नागरिहरूलाई निर्देशिकामा उल्लेख भएबमोजिम सहयोग दूतावासमार्फत उपलब्ध गराइने जनाएको छ । 

ओमानमा कोरोनाका कारणले बेरोजगार भएका तथा कम्पनीले पनि कुनै किसिमको सहयोग गर्न नसक्ने अवस्थामा भएको र स्वयम् पनि टिकट खरीद गरेर नेपाल फर्कन असमर्थ नेपाली नागरिकहरूले  निवेदन लेखी दूतावासमा पेस गर्न ओमानमा समस्यामा परेका नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ ।

उक्त निवेदन दूतावासको इमेल मार्फत पनि पठाउन सकिने छ भने यस सम्बन्धमा थप बुझ्न परेमा कार्यालय समयमा दूतावासका श्रम सहचारी कृष्णा कुमारी गौलीलाई ७१५९२५०६ मा र अन्य समयमा दूतावासको हटलाइन ७१५९२४९० मा सम्पर्क गर्न सकिनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!