थप तीन देशसँग हवाई सम्झौता गरिने

Posted on: 30 Aug, 2020

भदौ १४, काठमाडौँ | सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इन्डोनेशिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको तयारी गरेको हो ।

पर्यटन मन्त्रालयमा आज भएको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले ती मुलुकसँग हवाई सम्झौताको प्रक्रियाअघि बढाउने निर्णय गरेको पर्यटन मन्त्रालयले जनाएको छ । सरकारले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक अष्ट्रेलियासँग यस्तो सम्झौता भएको थियो । 

बैठकले यही भदौ १६ देखि नियमित उडान हुने हुँदा वायुसेवा कम्पनीले कोभिड–१९ को महामारी पूर्वनियमित अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिनतर्फ सबै वायुसेवा कम्पनीसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीलाई  सचेत गराउने पनि निर्णय गरेको छ । 

त्यस्तै नेपाली स्वदेश फिर्तालगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाइएको छ । समितिको सदस्यमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहनुभएको छ । 

समितिलाई हवाई उडान भाडादर यात्रुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, होटल सङ्घलगायत सङ्घ संस्थासँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रक्रियासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने कार्यादेश तोकिएका छ । 

हिमाल आरोहणका लागि खटाइने सम्पर्क अधिकृत तथा रेस्क्युलगायत विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय गरिएको छ । बैठकमा पर्यटनमन्त्री योगेश भट्टराईले मन्त्रालयको वार्षिक कार्ययोजनामा समावेश गरिएका माइलस्टोनलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!