कोरोनाका कारण विदेशमा २ सय ४४ नेपालीले ज्यान गुमाए, ७५ हजार ६६० जना स्वदेश फर्किए

Posted on: 24 Sep, 2020

असोज ८, काठमाडौँ | कोरोना महामारीको कारण नेपाल बाहेक बिभिन्न देशमा दुई सय ४४ नेपालीले ज्यान गुमाएका छन् । 

गत शनिबार साँझसम्म विदेशका विभिन्न १७ देशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताएका छन् । कोरोना  सङ्क्रमणबाट यो हप्ता अमेरिकामा थप एक जनाको ज्यान गएको गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । 

स्वास्थ्य समितिका अनुसार पछिल्लो साता यूके, स्पेन र भारत, लगायतका देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ सङ्क्रमण देखा परेको छ । 

समितिका अनुसार अहिलेसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

एनआरएनएको तथ्यांकअनुसार नेपाल सहित विश्वभर १ लाख ८ सय ३१ जना नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७९ हजार ७ सय ८२ जना कोरोना मुक्त भएका छन् ।  

७५ हजार ६६० जना स्वदेश फर्किए 

कोरोना भाइरसको सङ्क्रमणपछि बिभिन्न देशमा समस्यामा परेका नेपालीहरुलाई चार्टर्ड तथा नियमित उडानबाट ल्याउने क्रममा हिजो बुधबारसम्म स्वदेश फर्कनेको संख्या ७५ हजार ६६० पुगेको छ । यस क्रममा सबै भन्दा बढी युएईबाट स्वदेश फर्किएका छन् । युएईबाट मात्र २२ हजार ५४ जना स्वदेश फर्किएका छन् । त्यस्तै साउदीबाट ११ हजार ४१६ जना स्वदेश फर्किएका छन् । 

विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । अहिलेसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २ सय ८९ जनाको उद्धार गरेको जनाएको छ ।

अहिलेसम्म  एनआरएनएले कोरोना महामारीका कारण समस्यामा परेका १ लाख ५० हजार गैरआवासीयलाई स्वास्थ्य समाग्रीदेखि खाद्यान्नसम्म   सहयोग गरेको छ ।  संघका कोसाध्यक्ष महेश श्रेष्ठका अनुसार कोरोनाबाट बिभिन्न देशमा प्रभावित नेपालीहरुलाई राहत वितरणको कार्य निरन्तर भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!