साउदीले थप्यो यात्रा प्रतिवन्धको समयावधि

Posted on: 31 Jan, 2021

माघ १८, काठामाडौं । साउदी अरबले आफ्ना नागरिकलाई लगाउँदै आएको यात्रा प्रतिवन्धको समयावधि फेरि लम्ब्याएको छ । साउदी अरबको सरकारले यात्रा प्रतिवन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो । नयाँ निर्णयअनुसार साउदी अरवका नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिवन्धको निर्णय खारेज गर्न नमिल्ने निष्कर्ष निकाल्दै सरकारले समयावधि थप गरेको हो ।

साउदीमा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, सामुद्रीक क्षेत्रमा जान, हवाइ तथा स्थल मार्गमार्फत सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो वर्षको मार्च १३ देखि नै प्रतिवन्ध लगाइएको हो । कोरोनाविरुद्धको खोप ल्याउन ढिलाइ भएकाले यात्रा प्रतिवन्धको अवधि पनि लम्ब्याउनु परेको साउदीको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

साउदी अरबमा शुक्रबार मात्रै थप २६७ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले जनाएका छन् । सोही अवधिमा दुई जनाको मृत्यु भएको छ । योसँगै साउदीमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ६ हजार ३६८ जनाको मृत्यु भएको छ । रासस




यस बिषयमा तपाइको प्रतिक्रिया...!