नेपाली कार्यरत मुलुकहरुमा कोरोना संक्रमणको अवस्था के छ ? यस्तो छ देशगत विवरण

Posted on: 17 May, 2021

जेठ ३, काठमाडौं । नेपालमा पछिल्लो समयमा तीव्र रुपमा फैलिएको कोभिड-१९ को संक्रमणको जोखिम अव केहि कम हुने लक्षण देखिएको छ । दैनिक संक्रमितको सख्यामा आएको कमीसँगै मृत्युको संख्या घट्नु नेपालका लागि केहि आशाका संकेत हुन् ।

नेपालमा कोभिडको संक्रमणले अत्यास सिर्जना गरिरहेका समयमा नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुकहरुमा भनें केहि सुखद नतिजा छ । नेपालीको मुख्य श्रम गन्तव्य मध्येको एक कतारमा पछिल्लो समयमा नयाँ संक्रमितको संख्यामा निक्कै कमी आएको छ । कोभिडलाई नियन्त्रणमा राख्न सफल कतारमा मे १६ अर्थात आइतवार २ सय ५६ जना नयाँ संक्रमित फेला परेका छन् भनें चार जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । हालसम्म २ लाख १३ हजार १ सय ८३ व्यक्तिमा संक्रमण देखिएको कतारमा हालसम्म कोभिडका कारण ५ सय ३० जनाको ज्यान गएको छ । कतारमा एकैदिन सवैभन्दा धेरै अप्रिल २५ को दिन १० जनाको मृत्यु भएको थियो । कुल संक्रमित मध्ये २ लाख ७ हजार ७७ जना संक्रमणमुक्त भएका छन् । कतारमा मे अन्तिम साता सवैभन्दा धेरै नयाँ संक्रमित देखिएका थिए । सो सामयमा दैनिक २ हजार ३ सय भन्दा बढी संक्रमित देखिएका थिए । तर पछिल्लो समयमा कतारले कोभिडको संक्रमण फैलिन नियन्त्रणमा राखेको छ ।

यसैगरी अर्को मुख्य गन्तव्य मुलुक साउदी अरेवियाले पनि कोभिडको संक्रमणलाई पछिल्लो समयमा नियन्त्रणमा राखेको छ । हालसम्म ४ लाख ३३ हजार ९४ जना संक्रमित भएको साउदी अरेवियामा ४ लाख १७ हजार ७ सय ८७ जना संक्रमण मुक्त भएका छन् । कोभिडको संक्रमणका कारण ७ हजार १ सय ६२ जनाले सो मुलुकमा ज्यान गुमाएका छन् । तर साउदी अरेवियामा पनि पछिल्लो समयमा कोभिड नियन्त्रणमा ठूलो सफलता मिलेको छ । गत जुनमा दैनिक ४ हजार ७ सयको हाराहारीमा नयाँ संक्रमित फेला पर्ने गरेको साउदी अरेवियामा पछिल्लो समयमा दैनिक एक हजारको हारहारीमा नयाँ संक्रमित फेला पर्ने गरेका छन् । यसैगरी जुलाई पहिलो सातामा दैनिक ५५ ५६ जनाको मृत्यु हुने गरेकोमा हाल सो घटेर दैनिक १२ १३ जनामा सिमित भएको छ ।

नेपालीको अर्को उल्लेख्य संख्या रहेको संयुक्त अरव ईमिरेट्स (युएई) मा आइतवार १ हजार २ सय ५१ जना नयाँ संक्रमित फेला परेका छन् । हालसम्म सो मुलुकमा ५ लाख ४६ हजार १ सय ८२ जनालाई कोभिड संक्रमण भएको छ । आइतवार दुईजनाले कोभिडका कारण मृत्यु भएको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म युएईमा १ हजार ६ सय ३१ जनाको कोभिडका कारण मृत्यु भएको छ । गत जनवरी अन्तिम साता दैनिक लगभग चार हजार व्यक्तिमा दैनिक संक्रमण देखिने गरेको युएईमा पनि पछिल्लो समय कोभिड संक्रमण तुलनात्मक रुपमा नियन्त्रणमा आएको छ । दैनिक रुपमा २० जनाको हारहारीमा मृत्यु हुने गरेकोमा युएईमा दैनिक मृत्यु ३ ४ जनामा झरेको छ ।

नेपाली श्रमिकको अर्को गन्तव्य मुलुक मलेसियामा पनि कोभिड संक्रमण केहि दिनयता केहि घटेको छ । दैनिक संक्रमितको संख्या झण्डै पाँच हजार पुगिसकेको अवस्थामा केहि दिनयता त्यसमा केहि नियन्त्रण आएको छ । कोभिड संक्रमण फैलिन रोक्न मुभमेण्ट कन्ट्रोल अर्डर (एमसीओ) जारी गरेको मलेसियाले खोप अभियानलाई पनि तिव्र बनाएको छ । यस अगाडी गत जनवरीको अन्तिम सातामा दैनिक ५ हजार ७ सयको हाराहारीमा दैनिक नयाँ संक्रमित फेला पर्ने गरेको मलेसियामा हाल सो संख्या चार हजार भन्दा तल झरेको छ । तर दैनिक रुपमा कोभिडका कारण ज्यान गुमाउनेहरुको संख्यामा भनें वृद्दि भएको छ । सो मुलुकमा हाल दैनिक ४५ जनाको हाराहारीमा ज्यान गुमाउने गरेका छन् । हालसम्म मलेसियामा ४ लाख ७० हजार १ सय १० जनालाई कोभिडको संक्रमण भएको छ भनें १ हजार ९ सय २ व्यक्तिले ज्यान गुमाएका छन् । कुल संक्रमित मध्ये ४ लाख २६ हजार ३ सय १९ व्यक्ति संक्रमण मुक्त भएका छन् ।

कुवेतमा हालसम्म २ लाख ९१ हजार ६ सय २९ व्यक्तिमा कोभिड संक्रमण भएको छ भनें २ लाख ७७ हजार ८ सय २० व्यक्ति संक्रमण मुक्त भएका छन् । कोभिडका कारण हालसम्म कुवेतमा १ हजार ६ सय ९३ व्यक्तिको ज्यान गएको छ । मार्चको पहिलो सातामा दैनिक संक्रमितको संख्या १ हजार ६ सय भन्दा माथि रहेको कुवेतमा हाल सो संख्या आधामा झरेको छ ।

भारत र नेपालका कोभिडको संक्रमण उच्च भएपछि कुवेत, युएई, मलेसिया लगायतका मुलुकले नेपाल तथा भारतबाट आउने उडानहरुमा बन्देज लगाएका छन् । हालसम्म विश्वभरीमा १६ करोड ३७ लाख भन्दा धेरै व्यक्तिमा कोभिड १९ को संक्रमण भएको छ भनें त्यसमध्ये ३३ लाख ९३ हजार व्यक्तिको ज्यान गएको छ । १४ करोड २१ लाख व्यक्ति भनें संक्रमण मुक्त भएका छन् । नेपालमा ४ लाख ५५ हजार बढी व्यक्तिमा कोभिड संक्रमण भएको छ भनें ५ हजार एक व्यक्तिले ज्यान गुमाएका छन् । नयाँ संक्रमितको संख्यामा थोरै कमी आएसँगै केहि सहजता आउने अपेक्षा गरिएको छ । देशपरदेशबाट साभार 


यस बिषयमा तपाइको प्रतिक्रिया...!