मलेसिया र साउदीमा फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण, कति छन् संक्रमित ?

Posted on: 20 May, 2021

जेठ ६, काठमाण्डौ । नेपालीहरुको प्रमुख श्रम गन्तव्य देशहरु मलेसिया र साउदी अरबमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमण दर घट्दै गएको साउदीमा झण्डै ९ महिनापछि पुन बढ्न थालेको साउदीको स्थानीय सञ्चार माध्यम अरब न्युजले उल्लेख गरेको छ । इस्लाम धर्मावलम्बीको महान् चाड इद मनाएको एक हप्तापछि नै कोरोनाको सङ्क्रमण दर दैनिक एक हजारले बढेको हो ।

हिजो बुधबार साउदीमा एकै दिन १२ सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यही सङ्क्रमण दर २० अगस्ट २०२० मा थियो । झण्डै ९ महिनापछि साउदीका विभिन्न ठाउँहरूमा एक सयभन्दा बढी कोरोनाको केशहरू भेटिएको छ । मक्कामा ३४९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने रियादमा ३३४, पूर्वी भेगमा १४८ र मदिनामा १०४ नयाँ केश भेटिएको हो । अहिलेसम्म साउदीमा ४ लाख ३६ हजार २३९ जनामा सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । 

साउदीले पछिल्लो समय कोरोना विरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ । मोबाइल एप्लिकेशनमार्फत अग्रिम दर्ता गराई मिति र समय तोकी निःशुल्क खोप प्रदान गरिरहेको छ । साउदीमा कार्यरत नेपाली नागरिकलाई पनि यथाशीघ्र खोप अभियानमा समावेश हुन त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

मलेसियामा हालसम्मै धेरै संक्रमित थपिए 

मलेसियामा बुधवार कोभिड १९ को संक्रमण सुरु भएयताकै सवैभन्दा धेरै संक्रमित फेला परेका छन् । बुधवार ६ हजार ७५ जनामा संक्रमण देखिएको र यो कोभिडको संक्रमण सुरु भएयता एकैदिनमा फेला परेका धेरै संक्रमित भएको जनाइएको छ ।

ट्वीटरमा मलेसियाका स्वास्थ्य महानिर्देशक डा. नुर हिसाम अव्दुल्लाहले सवैभन्दा धेरै संक्रमित सेलेङ्गरमा देखिएका हुन् । त्यहाँ २ हजार २ सय ५१ व्यक्तिमा संक्रमण देखिएको हो । यसैगरी जोहरमा ६ सय ९९, क्वालालम्पुरमा ६ सय ६० तथा केडाहमा ४ सय ४५ व्यक्तिमा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा कोभिडको संक्रमणका कारण मलेसियामा ४६ जनाले ज्यान गुमाएका छन् । योसँगै हालसम्म मलेसियामा २ हजार ४० व्यक्तिको कोभिडका कारण मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै सरकारी अस्पतालहरुमा सघन उपचार कक्ष (आईसीयू) लगभग भरिन थालेको छ । यसले संकट सिर्जना हुने चिन्ता स्वास्थ्य महानिर्देशक अव्दुल्लाहले व्यक्त गरेका छन् । नेपालमा पनि कोरोनाको संक्रमण तिव्र रुपमा फैलिएपछि हाल आइसीयूहरु भरिएपछि तथा भेण्टिलेटरमा विरामीहरु राख्न नसक्ने अवस्थाका साथै अक्सिजनको चर्को अभावले समस्या पारिरहेको छ ।

मलेसियामा कोभिड संक्रमण भएका मध्ये ८९ दशमलव ८ प्रतिशत व्यक्ति संक्रमण मुक्त भएको स्वास्थ्य महानिर्देशक अव्दुल्लाहले जनाएका छन् । झण्डै चार लाख नेपाली वैधानिक हैसियतमा कार्यरत मलेसियामा ठूलो संख्यामा कागजातविहिन रुपमा काम गर्ने नेपाली श्रमिक पनि रहेका छन् । कोभिडको संक्रमण बढेसँगै सो जोखिमबाट बच्न सजगता अपनाउनु पर्ने देखिएको छ ।

नेपालसँगै छिमेकी मुलुक भारत, बंगलादेश लगायतका मुलुकहरुमा पनि पछिल्लो केहि सातायता कोभिडको संक्रमण तिव्र रुपमा फैलिएको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!