खाडीमा रहेका नेपालीहरुलाई सजग रहन अनुरोध

Posted on: 20 Jul, 2021

साउन ५, काठमाण्डौ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद-उल-अदाको सुरु भएसंगै खाडीमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन सूचना जारी भएका छन् । 

कतार स्थित नेपाली दुतावासले एक सूचना जारी गर्दै मंगलबारदेखि बिहिबारसम्म दुतावास बन्द रहने जानकारी दिएको छ । दुतावासले यो अवधिमा विदा मनाउने क्रममा नेपाली युवाहरुले गर्न सक्ने जमघट र हो-होल्लाप्रति ध्यानाकर्षण गराएको छ । दुतावासले उल्लेख गरेको छ 'विदा मनाउने क्रममा कतारको धर्म संस्कृति, परम्परा र मान्यता विपरित हुने कुनैपनि कार्य नगर्नहुनका साथै निषेधित खाद्य तथा पेय पदार्थको बेचविखन गर्ने तथा सार्वजनिक स्थलहरुमा उपभोग गरी अनावश्यक जमघट गर्ने कार्य नगर्न नगराउन हुन सबैमा अनुरोध छ ।' 

यस्तै साउदी स्थित दुतावासले एक सूचना जारी गर्दै इद अल-अदहाको अवसरमा १९ देखि २१ जुलाईसम्म दुतावास बन्द रहने जानकारी दिएको छ । 

उता बहराइन स्थित नेपाली दुतावास पनि आज मंगलबार र बुधबार बन्द हुनेछ । पर्वकै कारण दुतावास बन्द रहने व्यहोरा दुतावासको सूचनामा उल्लेख छ । 

त्यस्तै ईद-उल-अदाको अवसरमा युएई स्थित नेपाली दुतावास पनि आज र भोली बन्द हुनेछ । 

खाडी क्षेत्रमा चाडको अवसरमा बिदा मनाउने क्रममा नेपालीहरुले निषेधित खाद्य तथा पेय पदार्थ सेवन गरि भै-झगडा गर्दा हिंसाका घटना समेत हुँदै आएका छन् । यस्तो अवसरमा संयमित नहुँदा कतार, कुवेत लगायत देशहरुमा यस अघि पनि नेपालीहरु पक्राउ परेका थिए । पक्राउ पर्नेहरुले गैरकानुनीरुपमा मदिरा व्यापार गर्ने, हो -होल्ला गर्ने जस्ता क्रियाकलाप गरेका थिए । त्यसो त कुवेतमा अवैध मदिरा उत्पादन तथा बिक्रीका कारण नेपाली समुदाय बद्नाम हुँदै गएको बताइएको छ । यसै वर्षको शुरुमा अवैध घरेलु मदिरा बनाएर बिक्री गर्ने नेपाली गिरोह नै पक्राउ परेको थियो ।

मुस्लिम तीर्थयात्री हजका लागि मक्कामा भेला


कोरोना महामारीकाबीच हजारौँ मुस्लिम तीर्थयात्री हजका लागि साउदी अरबको मक्कामा भेला भएका छन् ।

इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थल मानिने मक्कामा उनीहरु हज गर्न भेला भएका हुन् । यस वर्ष हजका लागि अघिल्लो वर्षभन्दा कम सङ्ख्यामा तीर्थयात्री मक्का पुगेका र उनीहरु मास्क तथा भौतिक दूरी कायम गरी उत्सवमा सहभागी भएका समाचार संस्था अल जजीराले जनाएको छ । 

गत वर्ष हज मनाउन विश्वभरका झण्डै २५ लाख मुस्लिम धर्मावलम्बी मक्का पुगेका थिए । साउदी सरकारले यसवर्ष कोरोनाविरुद्धको खोप लगाएका ६० हजार नागरिकलाई मक्का यात्रा गर्न अनुमति दिएको छ । मक्कामा खोप नलगाउनेहरुलाई प्रवेश दिइएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!