न्युयोर्कमा के गर्दैछन् परराष्ट्रमन्त्री खड्का ?

Posted on: 26 Sep, 2021

असोज १०, काठमाडौं। संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन्। सो अवसरमा उनीहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवर्द्धनबारे विचारविमर्श भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

भेटवार्ता व्यापार, लगानी, जलविद्युत् विकास, सीमापार ऊर्जा व्यापारलगायत आपसी हितका विषयमा केन्द्रित रहेको थियो। दुवै देशका विदेशमन्त्रीले विगतका सहमतिहरू कार्यान्वयन गर्न सहमति पनि जनाएको उक्त नियोगले जनाएको छ।

शनिबार नै मन्त्री खड्काले ७६ औं महासभाका अध्यक्ष अब्दुल्ला शहिदसँग भेटवार्ता गरेका थिए। भेटमा मन्त्री खड्काले संयुक्त राष्ट्रसंघमा नेपालका प्राथमिकता, विश्व शान्ति, सुरक्षा, विकास, मानवअधिकार, राष्ट्रसंघीय शान्ति स्थापनाकार्य तथा अल्पविकसित देशहरूका निम्ति विशेष सहयोगबारे छलफल गरे। मन्त्री खड्काले महासभाका अध्यक्षलाई नेपालबाट पूर्ण समर्थन हुने प्रतिबद्धता पनि व्यक्त गरे। प्रत्युत्तरमा अध्यक्ष शहिदले आफ्नो कार्यकालमा संयुक्त राष्ट्रसंघमा आफ्ना प्राथमिकताबारे चर्चा गर्दै आफूलाई अध्यक्षमा नेपालबाट समर्थन भएकामा त्यसको सराहना गरे।

यसैबीच संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा शनिबार साँझ रात्रिभोजको आयोजना गरेको उक्त नियोगले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!