बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बिक्री वितरण सुरु

Posted on: 29 Sep, 2021

असोज १३, काठमाडौँ ।  बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्री वितरण सुरु गरेका छन् ।  नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बेलायतमा कोदो लिमिटेड कम्पनीको स्थापना गरी नेपालीहरूले कोदोको रक्सीको ब्राण्डिङ शुरू गरेका हुन् । उक्त कम्पनीमा जनक राई प्रबन्ध निर्देशक सहित जितेन्द्र चेम्जोङ, भरतमणि लिम्बु, आकाश सुनुवार, सुमन गुरुङ लगानीकर्ता रहेका छन् । 

उक्त कम्पनीका अनुसार ‘प्योर कोदोको रक्सी’ र ‘तीन पाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गरी विक्री सुरु गर्न लागिएको हो ।

तीन पाने कोदोको रक्सीको २० सी एल बोटलमा २०० एमएल रक्सी राखिएको छ भने ६० प्रतिशत अल्कोहल रहेको छ,यस्तै ‘प्योर कोदोको रक्सी’मा ७० सी एल बोटलमा ४० प्रतिशत अल्कोहल रहेको बताइएको छ । कम्पनीले ‘प्योर कोदोको रक्सी’ प्रतिबोतल २५ पाउण्ड ९९ पेन्स र ‘तीन पाने कोदोको रक्सी’को १२ पाउण्ड ९९ पेन्स मूल्य तोकिएको प्रबन्ध निर्देशक जनक राईले जानकारी दिनु भयो ।

उक्त रक्सीको यही अक्टोबर १० गते अल्डरशटमा एक औपचारिक रूपमा उद्घाटन गर्न लागिएको कम्पनीका निर्देशक राईलेले बताउनु भयो  । कोदोको रक्सी विशेष गरी राई, गुरुङ, लिम्बु, मगर, तामाङ, शेर्पा लगायत जनजातिहरू माझ निकै लोकप्रिय रहेको छ । उक्त रक्सीलाई बेलायतमा व्यवस्थित तरिकाले बेच्न लागिएको राईले बताउनु भयो ।

कम्पनीले यो रक्सी भिन्न स्वादको रहेको र यसले पिउने मान्छेलाई सहज र न्यानो महसुस गराउने बताएको छ । निर्देशक राईले भन्नु भयो , ‘यो रक्सीले नेपाल र नेपालीहरूको पनि झल्को दिनेछ, बेलायतमा नेपालीत्व प्रवर्द्धन समेत हुने विश्वास छ ।’

१० गते अल्डरशटमा विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा रक्सीको औपचारिक रूपमा उद्घाटन गर्न लागिएको हो । हाल मिडल्याण्डमा रहेको कारखानाबाट नेपाली मूलको कोदोको रक्सी उत्पादन भइरहेको छ । यसको मार्केट अनुसार अन्य क्षेत्रमा पनि कारखाना स्थापना गर्नेबारे सोँच बनाएको कम्पनी स्रोतको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!