आफ्ना पिडा लुकाएर अरुका पिडा बोल्दै दोलखाका महिला पत्रकारहरु

Posted on: 20 Jun, 2018

ताराबहादुर महत । असार ६, दोलखा । आफूहरुले भोग्नु परेका समस्या तथा हिंसाका घटनाहरु बाहिर ल्याउन कसैले सहयोग नगरेको दोलखाका महिला पत्रकारहरुले गुनासो गरेका छन् ।


बुधबार चरिकोटमा सम्पन्न संचार माध्यमबाट हुने प्रशारण तथा प्रकाशनमा लैङ्गिक संवेदनशीलता विषयक अन्र्तक्रिया कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । ‘हामीहरुले धेरै हिंसा पिडित महिलाहरुका विषयमा आवाज उठायौँ, तर महिला पत्रकारहरु नै आफूले भोगेका समस्या र हिंसालाई दबाएर राख्न बाध्य भएका छन’, पत्रकार महासंघ दोलखाकी सचिव निर्मला शिवाकोटीले भन्नुभयो । महिला पत्रकारहरुलाई पर्याप्त कानुनी ज्ञान नहुँदा महिला हिंसाका कतिपय विषय उठान गर्न समेत नसकिएको सचिव शिवाकोटीको भनाई छ ।

संख्यात्मक रुपमा महिला हिंसाका पिडितले उजुरी दर्ता गराउने क्रम बढेको पाईए पनि सुनुवाईका लागि लामो समय लाग्ने र न्यायोचित फैसला समेत नहुने गरेको अर्की महिला पत्रकार उषा तामाङको भनाई छ । 

नेपाल पत्रकार महासंघ दोलखाको समन्वयमा राष्ट्रिय महिला आयोगद्वारा आयोजित कार्यक्रममा आयोगकी मुद्धा शाखा प्रमुख विमला खड्काले संचार माध्यममा उठेका लैङ्गिक संवेदनशीलताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्नुहुँदै खड्काले विद्युतिय अपराधका माध्यमबाट लैङ्गिक हिंसा बढ्दै गएको भएपनि प्रष्ट कानुनको अभावमा न्याय दिलाउन नसकिएको बताउनुभयो । महिला हिंसा सम्बन्धि कुनै जानकारी वा गुनासो भएमा राष्ट्रिय महिला आयोगको हट लाईन नम्बर ११४५ मा हरेक दिन २४ सै घण्टा फोन गरेर जानकारी दिन सकिने खड्काको भनाई छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय संचार माध्यममा कार्यरत दर्जनौं पत्रकारहरुको सहभागिता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!