दोलखामा बाढीले बगाउँदा एक महिला घाईते, आर्थिक अभावले उपचारमा समस्या

Posted on: 08 Jul, 2018

ताराबहादुर महत । असार २४, दोलखा । शनिबार विहान बर्षासँगै आएको बाढीमा परि दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा एकजना घाईते हुनुको साथै लाखौं मुल्य बराबरको धनमाल क्षति भएको दोलखा प्रहरीले जनाएको छ ।


रातको करिब १ बजे अबिरल बर्षासँगै स्थानिय चौकी खोलामा आएको बाढीले बगाउँदा ५१ बर्षिय असरी तामाङ घाईते भएकी हुन । घरमा बाढी पसेपछि ज्यान बचाउन बाहिर निस्किन लाग्दा आफूलाई बाढीले बगाएर घरभन्दा केहि तल पु¥याएको र झाडीमा समातेर आफू बाँच्न सफल भएको दोलखा सामुदायिक हस्पिटलमा उपचाररत तामाङको भनाई छ । बाढीले बगाएपछि उनलाई परिवारका आफन्त र छिमेकीहरुले उद्धार गरी बचाएका थिए । उनको दायाँ हात भाँचिएको र दुईवटै गोडामा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ । बाढीले घरमा रहेको तीस हजार नगदसहित अन्नपात, लत्ताकपडा र एक तले अस्थायी टहरा पुर्ण रुपमा काम नलाग्ने  हुँदा एक लाख अस हजार रुपैँया बराबरको क्षति भएको दोलखाका प्र्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक बासुदेव पाठकले जानकारी दिनुभयो । भएको नगद पनि बाढीले बगाउनु र परिवारको आर्थिक अवस्था कमजोर भएकोले आमाको उपचारमा अफ्ठ्यारो परेको असरीका छोरा धनबहादुर तामाङले दुखेसो गर्नुभयो । सहयोगका लागि कसलाई भन्नुपर्ने समेत आफूलाई जानकारी नभएको धनबहादुरको भनाई छ ।


भारी बर्षासँगै आएको बाढी चौकी बस्तीका अधिकांश घरमा पस्दा लाखौंको क्षति पु¥याएको छ । लत्ताकपडा, अन्नपात, भाडावर्तन लगायत गरी साङगे तामाङको ५० हजार, मिने तामाङको ६० हजार र छिरिङ तामाङ एक लाख रुपैँया बराबरको क्षति भएको प्रहरीको भनाई छ । पिडित परिवारलाई बिगु गाउँपालिकाको पहलमा खाद्यन्न, लत्ताकपडा, भाँडा वर्तन, त्रिपाल लगायतका राहत सामाग्री उपलब्ध गराईएको बताईएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!