नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on: 01 Jul, 2016

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य पूरा हुने क्रममा रहेको विभागले नतिजा सार्वजनिकीकरण गर्दै जानकारी दिएको छ । 

प्रतिवेदनअनुसार नेपालमा छ करोड आठ लाख २७ हजार कुखुरा व्यावसायिक रुपमा पालिन्छ । त्यसबाट वार्षिक ११ करोड ४० लाख ५८ हजार केजी उत्पादन हुने गरेको छ । कुल उत्पादनको ११ करोड ६ लाख ३० हजार केजी मासु ब्रोइलर कुखुराबाट उत्पादन हुने गर्छ । यसैगरी वार्षिक प्रतिव्यक्ति ४.१ केजी मासु उपभोग हुने गरेको छ ।

यस्तै वार्षिक एक अर्ब २० करोड २१ लाख ६६ हजार अन्डा उत्पादन हुने र प्रतिव्यक्तिको भागमा वर्षमा ४४ अन्डा पर्ने गरेको छ । पोल्ट्री व्यवसायबाट सो आवमा रु ३३ अर्ब ७२ करोड ४० लाख २३ हजारको आम्दानी भएको देखिएको छ ।

उक्त प्रतिवेदनमा २०३१ देखि २०७१ सालसम्मको १०÷१० वर्षभित्र सञ्चालित पोल्ट्री फार्मको सङ्ख्या उल्लेख गरिएको छ । जसमा २०६१ देखि २०७० सम्म सबैभन्दा बढी १९ हजार ८६४ वटा फार्म सञ्चालन गरिएको देखिएको छ ।

व्यावसायिक रुपमा सबैभन्दा बढी कुखुरा, अन्डा उत्पादन गर्ने पाँच जिल्लामध्ये पहिलोमा चितवन परेको छ भने दोस्रो, तेस्रो, चौथो र पाँचौँमा क्रमशः मकवानपुर, नवलपरासी, दाङ र भक्तपुर रहेका छन् । चितवनले कुल उत्पादनको ६८ प्रतिशत उत्पादन गर्ने गरेको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा विजयबहादुर कुँवरले नेपालको अर्थतन्त्रमा पोल्ट्री व्यवसायले ठूलो योगदान पु¥याएको बताउँदै यो व्यवसायलाई नाफामूलक र मर्यादित बनाउनुपर्नेमा जोड दिएका थिए । पशुपक्षी विकास मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेलले पोल्ट्रीसम्बन्धी यकिन तथ्याङ्कका अभावमा अहिलेसम्म ठोस योजना तर्जुमा गर्न नसकेको बताउँदै यो तथ्याङ्कले आगामी दिनमा यस क्षेत्रमा सुधार गरी आयातलाई प्रतिस्थापन गर्ने र आन्तरिक मागलाई पूरा गर्नतिर लाग्नुपर्नेमा जोड दिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!