दोलखाको मतदाता सङ्ख्यामा पुरुषभन्दा महिला बढी

Posted on: 04 Apr, 2017

चैत २२, दोलखा । दोलखाको मतदाता सङ्ख्यामा पुरुषभन्दा दुई हजार ३०० महिला बढी रहकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

आगामी वैशाख ३१ मा हुने स्थानीय निकायको निर्वाचन प्रयोजनका लागि जिल्लाको कुल मतदाता सङ्ख्या एक लाख ३३ हजार ४८२ जना पुगेका छन् । 

निर्वाचन आयोगले आज सार्वजनिक गरेको दोलखाको सो मतदातामध्ये ६५ हजार ५९८ पुरुष र ६७ हजार ८९३ महिलाले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । 

निर्वाचन आयोगले सार्वजनिक गरेको नेपालको कुल मतदाता सङ्ख्या भने एक करोड ४० लाख ५४ हजार ४८२ पुगेका छन् । नेपालको कुल मतदाता सङ्ख्यामा दोलखाको संख्या शून्य दशमलव ९४ प्रतिशत रहेको छ । 

करिव बीस वर्षपछि नयाँ सङ्घीय संरचनाअनुसार हुन लागेको स्थानीय तहको निर्वाचनमा सदर मतको तथ्याङ्कलाई शतप्रतिशत बनाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले दुईदिने मतदाता शिक्षा कार्यक्रम पनि सुरु गरिसकेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!