प्रतिनिधिसभातर्फ देशभरीमै सबैभन्दा बढी मत अन्तरले जित्ने पार्वत गुरुङ को हुन ?

Posted on: 10 Dec, 2017

ताराबहादुर महत । मंसिर २४, दोलखा । प्रतिनिधि सभाको एकमात्र सिट रहेको दोलखामा अहिलेसम्मकै फराकिलो मत अन्तरले एमाले उम्मेद्वार पार्वत गुरुङ विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले शनिबार सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार एमाले उम्मेद्वार गुरुङले निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेद्वार रुद्रबहादुर खड्कासँग ३० हजार ६ सय ४४ मत अन्तरले विजयी हुनुभएको हो । यो प्रतिनिधिसभा निर्वाचनको घोषित परिणाममध्ये सबै भन्दा धेरै मत अन्तर हो । विजयी गुरुङले ५५ हजार ४ सय ५७ मत र प्रतिद्वन्द्वी खड्काले २४ हजार ८ सय १३ मत प्राप्त गर्नुभएको थियो । 


विजयी सांसद तथा एमाले नेता पार्वत गुरुङको जन्म माता जितुमाया गुरुङ र पिता मकरध्वज गुरुङको कोखबाट वि.स. २०२५ साल श्रावण ५ गते दोलखाको उत्तरी विकट गाउँ सुरी गाविसमा भएको हो । विकट ठाउँमा जन्मिएर पनि उहाँले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्मको शिक्षा हाँसिल गर्नुभएको छ । विद्यायल जीवन दोलखाको साविक लादुक गाविसमा व्यतित गर्नुभएका गुरुङ २०३७ सालमा अनेरास्ववीयुबाट विद्यार्थी राजनिति शुरु गर्नुभएको हो । उहाँ अनेरास्ववीयु दोलखाको संस्थापक सदस्य समेत हुनुहुन्छ ।

वि.स. २०५४ सालमा तत्कालिन जिल्ला विकास समिति दोलखाको सदस्य भएर काम गर्नुभएका नेता गुरुङ पार्टीको गाउँ तहदेखि अहिले केन्द्रिय सदस्यको भुमिकामा रहनुभएको छ । यसविचमा उहाँ नेकपा एमाले सुरीको गाउँ कमिटी सचिव, इलाका कमिटी सचिव, जिल्ला कार्यसमिति सदस्य, सचिवालय सदस्य, निर्वाचन क्षेत्रिय कमिटी संयोजक हुँदै नेकपा एमालेको जिल्ला अध्यक्षको भुमिका निर्वाह गरी सक्नुभएको छ । त्यसै गरी पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, अञ्चल कमिटी सदस्य भएर समेत पार्टी र राष्ट्रिय राजनितिलाई नजिकबाट नियाली सक्नुभएको छ ।


पार्टीको जिल्ला अध्यक्ष र अञ्चल कमिटीको भुमिका निर्वाह गरे पश्चात्त २०७० मा भएको दोश्रो संविधान सभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धि काङ्ग्रेस उम्मेद्वारलाई ४ हजार ठुलो मत अन्तरले पराजित गर्दै विजयी हुनु भएको थियो । पहिलो संविधान सभाले नयाँ संविधान बनाउन नसक्नु र दोश्रो संविधान सभाले देशमा जनताको चाहाना अनुसार नयाँ संविधान निमार्ण गरेपछि गुरुङको राजनितिक उचाई थप बढेको थियो । खासगरी नयाँ संविधानमा युवाहरुका सवाल उठानमा गुरुङले खेलेको भुमिकाका कारण अझ युवाहरुमाझ गुरुङ धेरै लोकप्रिय नेताका रुपमा चर्चित हुनुहुन्छ । स्वदेशमै कलकारखाना, उद्योग धन्दा, पेशा व्यवसाय संचालन गरेर युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा सदैव उहाँ लागिरहनुभएको छ ।

२०७० को निर्वाचन जितेर नयाँ संविधान निमार्ण गर्नु पहिलो जिम्मेवारी भएपनि सांसद विकास कोषको निर्वाचन क्षेत्र विकास कार्यक्रम र अन्य कार्यक्रममार्फत दोलखाको सडक, विद्यालय, खानेपानी, सिँचाई, पुलपुलेसा निमार्ण लगायत क्षेत्रमा उल्लेखनिय योगदान गर्नुभएका गुरुङ धेरै दोलखालीहरुको मन मुटुमा बस्न सफल नेता हुनुहुन्छ । आफू विकट गाउँमा जन्मेर भोग्नु परेको कष्टका कारण पनि त्यस्तो कष्ट कसैले भोग्नु नपरोस भनेर विकास निमार्ण गरी समग्र दोलखा जिल्लालाई नै सुगम बनाउन आफू अहोरात्र खटिएर लागिरहेको उहाँको भनाई छ ।

पार्टीको केन्द्रिय कमिटीसम्म बसेर काम गरीरहनुभएका र राष्ट्रिय राजनितिलाई राम्रोसँग बुझिसकेकोले आफूले निर्वाचन ताका बनाएका योजनाहरु व्यवहारिकतामा आधारित भएको गुरुङको दाबी छ । अघिल्लो निर्वाचन जितेपछि शुरु गरेका जनताका काम पुरा गर्न यो जितको आफूले  भरपुर उपयोग गर्ने  उहाँको प्रतिबद्धता छ । आफूले एमाले उम्मेद्वार बनेर जितेको भएपनि अबदेखि सबै दोलखाली जनताको सेवक बनेर काम गर्ने उहाँको भनाई छ । विशेष गरी दोलखाको समृद्धिका लागि जलश्रोत, जंगल, जडीबुटी लगायतका प्राकृतिक श्रोत र पर्यटकिय क्षेत्रको विकास गरेर अघि बढ्ने कार्यक्रम रहेकोले पनि समृद्ध दोलखा हेर्न आतुर दोलखाली जनताहरुको सपना पुरा हुने गुरुङको विश्वास छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!