दोलखा जिल्लामा ८८.०६ प्रतिशत भूकम्पपीडितले मात्र अनुदान पाए

Posted on: 09 Jan, 2017

पुस २५, दोलखा । भूकम्प गएको २० महिना पछि जिल्लामा ८८।०६ प्रतिशत भूकम्पपीडितले मात्र अनुदानको पहिलो किस्ता पाएका छन् । 

जिल्लामा ५१ हजार ९४० जना लाभग्राहीको सूचीमा भए पनि आजसम्म ४५ हजार ७४० जनाको बैंक खातामा रकम जम्मा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिले जनाएको छ । 

प्राधिकरणका अनुसार सम्झौता सकिएको तर रकम बैंक खातामा जम्मा नभएका एक हजार ६५२ जनाको पनि चाँडै रकम बैंक खातामा जम्मा हुनेछ । चार हजार ५४८ जना भूकम्पपीडितसँग भने सम्झौता हुन बाँकी रहेको छ । 

प्राविधिक समस्या देखिएका कारण अनुदानका लागि सम्झौता हुन नसकेको बताउँदै समस्या समाधान गरी सम्झौता गराएर रकम वितरण गर्ने जनाइएको छ । 

पैँतालीस हजार ७४० जनाले अनुदानको पहिलो किस्ता लिए पनि दोस्रो किस्ता लिनेको सङ्ख्या शून्य रहेको हो । दोस्रो किस्ताका लागि केही भूकम्पपीडितले माग गरेकाले प्राविधिकले निरीक्षण गरेको र स्थानीय निकायको सिफारिसमा दोस्रो किस्ताका लागि प्रक्रिया सुरु भएको हो । 

भूकम्पपीडित परिचयपत्रलाई आधार मान्दा दोलखामा ३० हजारको हाराहारीमा लाभग्राहीको सूचीबाट भूकम्पपीडितको नाम छुटेको थियो । छुटेकालाई सम्बोधन गर्ने गरी सरकारले गुनासो फाराम भर्ने व्यवस्था गरेसँगै दोलखामा २१ हजार ७१२ जना भूकम्पपीडितले लाभग्राहीको सूचीमा आफूलाई राखियोस् भन्दै फाराम भरेका थिए । 

उक्त फाराम राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाइसकिएकाले लाभग्राहीको सूचीबाट छुटेका ७० प्रतिशत भूकम्पपीडितको नामावली कार्यकारी समितिमा सिफारिस भएको प्राधिकरणको जिल्ला समन्वय समितिले जनाएको छ । 

सम्झौता हुन बाँकी रहेकामा दोलखाको भेड्पु गाविस र शैलुङ्गेश्वर गाविसका भूकम्पपीडित सबैभन्दा बढी छन् । भेड्पु गाविसमा सिङ्गो गाउँ नै जग्गा धनी पुर्जाविहीन भएकाले छुटेको हो भने शैलुङ्गेश्वरमा धेरैको नाम छुटेका कारण लाभग्राहीको सूचिमा परेकाहरुले पनि सम्झौता गर्न मानेका छैनन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!