एक बर्षमा ५८ हजार विरामीको उपचार

Posted on: 23 Jan, 2017

ताराबहादुर महत, माघ १०, दोलखा । प्रस्तावित चरिकोट अस्पतालले एक बर्षको अवधिमा ५८ हजार विरामीलाई सेवा प्रवाह गरेको जनाएको छ ।

न्याय हेल्थ नेपालले प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको समन्वयमा स्वास्थ्य सेवा संचालन गरेको  एक बर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । अस्पतालका निर्देशक बुसन प्रसाँईका अनुसार एक हजार १ सय भन्दा बढी विरामीले  विभिन्न प्रकृतिको शल्यक्रिया सेवा लिएका छन । त्यसैगरी ८ सय ११ जनाले प्रसुति सेवा लिएका छन । जसमध्ये ८६ जनाले शल्यक्रियासहितको सेवा लिएको जनाईएको छ ।

यस अस्पतालबाट दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौं लगायतका जिल्लाका बासिन्दाहरुले सेवा लिएको मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिनुभयो । नागरिकको घरदैलोमा गएर सेवा दिने उद्धेश्यले केहि समय पश्चात जिल्लाको ६ गाविसमा सामुदायिक स्वास्थ्य कार्यक्रम संचालन गर्न लागिएको पनि उहाँको भनाई छ ।

केहि समय अगाडि विभिन्न विरामी उपचारमा लाहपरबाही गरेको भन्दै विवादमा मुछिएको अस्पतालले हाल आफ्नो सेवा सुधार गर्दै लगेको सेवाग्राहीहरुले बताएका छन ।  स्वास्थ्य मन्त्रालयसँग २०७२ को माघ ५ गते सम्झौता गरी १० गतेबाट प्राथमिक स्वास्थ्य केन्द्रको समन्वयमा प्रस्तावित चरिकोट अस्पतालले नागरिकहरुलाई स्वास्थ्य सेवा दिन शुरु गरेको  थियो । केहि दिनअघि स्वास्थ्य मन्त्री गगन थापाले अस्पतालको अनुगमन गरी आफ्नै कार्यकालमा ५० शैयाको अस्पताल बनाएर जिल्ला अस्पताल सरह सेवा दिने बताउनुभएको थियो । पहिले निमार्ण गरिएको जिल्ला अस्पताल जिरीमा हुँदा प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले जिल्ला अस्पताल सरहको सेवा दिने पर्यत्न गरीरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!