दोलखामा नाटकबाटै मेलमिलापको अपिल

Posted on: 19 Mar, 2017

(सास) चैत्र ६ । दोलखा । सामुदायिक मेलमिलाप सम्बन्धि जनचेतनामुलक सडक नाटक आज दोलखाको विभिन्न तीन ठाउँमा प्रदर्शन गरिएको छ । 

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी) को आयोजनामा  आवाज आर्ट क्रियसनले साविकको सुष्पाक्षमावति, सुन्द्रावति र सुनखानी गाविसमा नाटक प्रदर्शन गरेको आयोजकले जानकारी दिएको छ । समुदायका विवादहरु स्थानिय स्तरमै स्थापित सामुदायिक मेलमिलाप केन्द्र  मार्फत समाधान गर्न सन्देश दिने उद्धेश्यले नाटक प्रदर्शन गरिएको सामुदायिक मेलमिलाप कार्यक्रम दोलखाका संयोजक ताराबहादुर महतले जानकारी दिनुभयो । 

हिजोबाट शुरु भएको नाटक जिल्लाका साविकको दुई नगरपालिका र ४८ वटै गाविसमा प्रदर्शन गरिने आयोजकले जनाएको छ । हिजो लाँकुरीडाँडा र बोच गाविसमा प्रदर्शन भएको नाटक भोलि लापिलाङ्ग, लामिडाँडा र बाबरे गाविसमा प्रदर्शन हुने भएको छ  । द एसिया फउण्डेसनको आर्थिक सहयोग र स्थानिय तहको समन्वयमा एनआरसिटीसीले करिब डेढ बर्षदेखि दोलखा जिल्लामा सामुदायिक मेलमिलाप कार्यक्रम संचालन गरीरहेको छ । कार्यक्रम अन्र्तगत जिल्लामा साविकको एक नगरपालिका र ४५ गाविसमा स्थापित मेलमिलाप केन्द्र मार्फत  करिब ४ सयको हाराहारीमा देवानी प्रकृतिका विवादहरु समाधान गरिएको कार्यक्रम संयोजक महतको भनाई ंछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!