दोलखाका तेह्र विद्यालय वर्षायामअगावै निर्माण हुने

Posted on: 05 Apr, 2017

चैत २३, दोलखा | दोलखाको उत्तरी क्षेत्रका १३ विद्यालय वर्षायाम सुरु हुनुअगावै निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ काम भइरहेको सिविन नेपालले जनाएको छ । 

नर्वेली दूतावासको सहयोगमा फोरुड टुकी–सिविनको साझेदारीमा उत्तरी क्षेत्रका १३ विद्यालय अहिले निर्माण भइरहेका छन् । भूकम्पले सबैभन्दा बढी क्षति भएको कालिञ्चोक गाउँपालिकाको लामीडाँडा, बाबरे, विगु गाउँपालिकाको खोपाचाँगु, आलम्पु, लादुक र चिलङ्खामा रहेका १३ विद्यालयको पुनःनिर्माण तीव्रगतिमा भइरहेको छ । 

वर्षायाम सुरु हुनुअगावै विद्यालय हस्तान्तरण गरिने योजना रहे पनि अहिले प्रत्येक दिनजसो परिरहेको वर्षाका कारण पुनःनिर्माणमा समस्या आएको छ । 

नेपाल सरकारको मापदण्डअनुसार भूकम्प प्रतिरोधी विद्यालय भवन ११७ कोठा निर्माण सिविन नेपालको सहयोगमा स्थानीय उपभोक्ता आफैँले गरेका हुन् । विद्यालयका प्रतिकोठा ३३ जनादेखि ५५ जनासम्म विद्यार्थी बसेर अध्ययन गर्न मिल्ने गरी विद्यालय भवन निर्माण भइरहेको हो । 

निर्माणाधीन विद्यालय भवन र निर्माण गरिने शौचालय अपाङ्ग तथा बालमैत्री र छात्रछात्रामैत्री हुनेछन् । सिविन नेपालका परियोजना व्यवस्थापक रवीन्द्र पराजुलीले विद्यालय भवनसँगै शौचालय, फर्निचर, खानेपानी र पुस्तकालयसमेत व्यवस्थापन गरिदिने बताउनुभयो । 

प्राथमिक विद्यालयमा तीनकोठे शौचालय र ४५ जना विद्यार्थी बराबर एक कोठाको शौचालय निर्माण गरिने पराजुलीको भनाइ छ । भूकम्पले जिल्लाभरका अधिकांश विद्यालय क्षति भएपनि धेरै विद्यालय अझै पनि अस्थायी सिकाइ केन्द्रकै भरमा छन् । दोलखाका उत्तरी क्षेत्रका १३ विद्यालयमा भवन बनेसँगै पठनपाठनमा समेत सहज हुने देखिन्छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!