चोरीको मोटरसाइकलसहित एक पक्राउ

Posted on: 09 May, 2019

वैशाख २६, काठमाडौँ  | चोरी भएको बा७८प ४८२० नंको मोटरसाइकलसहित प्रहरीले काठमाडौँबाट एक जनालाई आज बिहान पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौँ बसुन्धारा बस्ने दोलखा देउराली गाउँपालिका–८ का २२ वर्षीय मोहनलाल श्रेष्ठ रहेका छन् । उनलाई गोकर्णेश्वरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले तीन जना सवार उक्त मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा दुई जनाले चेकिङमा रहेका प्रहरी कर्मचारीलाई हेल्मेट प्रहार गरी भागेको जनाइएको छ । 

चालक श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको रहेको खुल्न आएको र फरार दुई जनाको खोजी भइरहेको छ । 

यता काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ राधाकृष्ण टोलस्थित रीमा राजकोटीको टहरोबाट विभिन्न कम्पनीका ४ थान मोबाइल र नगद २५ हजारसहित रु एक लाख २६ हजार बराबरको धनमाल गए राति चोरी भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!