कर्णालीले राजनीतिक एजेण्डा गुमाएको आरोप

Posted on: 22 Aug, 2018

भदौ ६, कालिकोट | कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा ज्यान गुमाएका जुम्लाका हरिबहादुर कुवँरको तेस्रो स्मृती दिवस मनाइएको छ । हरिबहादुर कुँवर स्मृति कर्णाली प्रतिष्ठानको आयोजनामा श्रद्धाञ्जली सभासहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

२०७२ सालमा सरकारले संघीय संरचनामा मुलुकलाई ६ प्रदेशमा विभाजन गरी कर्णालीलाई सुदूरसँग जोडेको बिरोधमा कर्णालीवासीहरु थालेको आन्दोलनका क्रममा सुर्खेतमा तीन जना र जुम्लामा हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजबहादुर कुवँरले एक कार्यपत्र प्रस्तुत गर्दै कर्णालीले राजनीतिक एजेण्डाहरु गुमाउदै गएको भन्दै चिन्ता व्याक्त गरे ।

उनले छुट्टै स्वायत् कर्णाली प्रदेश बनाउनुपर्ने मागसहित कर्णालीवासीले थालेको आन्दोलनका क्रममा जुम्लाका हरिबहादुर सहित सुर्खेतका तीन जना गोपालसिंह रजवार, यमबहादुर बिसी र टिकाराम गौतमले ज्यान गुमाए त्यस अनुसार कर्णालीले राजनीतिक एजेण्डामा अडान लिन नसकेको बताए ।

उनले नेपालमा संघीयताको मर्म अनुसार स्थानीय तहदेखी, प्रदेश सरकार र संघीय सरकारले आफ्ना कामहरु नागरिकको पक्षमा गर्न नसकेको बताउदै कर्णाली प्रदेशको प्राप्तीका लागि ज्यान गुमाउने सहिदहरुको सपना अनुसार कर्णाली प्रदेश अगाडी बढ्न नसकेको आरोप लगाए । उनले भने, ‘राज्यको नीतिगत समस्याका कारण कर्णालीवासी पिछडापनको शिकार भएका छौँ ।’

जनसंख्याको आधारमा प्रतिनिधित्व र सेवा प्रवाह हुँदा कर्णाली बिभिन्न सेववाहरुबाट बञ्चित हुँदै आएको छ । सहिदहरुले रगत बगाए, २०७२ भदौ ५ गते सरकारले पनि छुट्टै कर्णाली प्रदेशको त घोषणा गर्यो तर न स्वायत् भयो, न कर्णाली स्वायत् बिशेष क्षेत्र नै बन्यो । हामीले पुरा एजेण्डा कायम गर्न सकेनौ ।


कार्यक्रममा उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै जिल्ला बारका अध्यक्ष हिक्मतबहादुर बिष्टले  मुलुकको संघिय संरचना अनुसार निर्माण भएको स्थानिय तहहरु बिभिन्न अनियमितता गर्ने तिर केन्द्रित भएकाले संघीयताप्रति नागरिकको विश्वास घट्दै गएको बताए । उनले कर्णाली प्रदेश सरकार र यहाँका स्थानीय तहमा ठोल समृद्धिको योजना र सपना नहुँदा प्रचुर सम्भावनाभित्र अध्यारो प्रदेश बन्नु परेको बताए ।

प्रदेश सभा सांसद कुर्मराज शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका नेता चित्रसिंह गाँउलेले कर्णाली दलाल सामान्तबादबाट कर्णाली मुक्त हुन नसकेको बताए । उनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले नै सामान्तवादको नेतृत्व गरिरहेको आरोप लगाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!