जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा

Posted on: 05 May, 2018

वैशाख २२, दुनै | त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको काम कारबाही प्रभावित भई सेवाग्राही मर्कामा परेका छन् । 

तालीम सेमिनार र कार्यालयको कामको लागि भनेर काजमा जिल्ला बाहिर गएका नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला र लेखापाल पदमप्रसाद खनाल लामो समयसम्म कार्यालयमा नफर्केपछि सेवा ग्राही मर्कामा परेका हुन । 

वैशाखको ७, ८ र ९ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको तालीममा सहभागी हुन गएका त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला, नासु हीराचन्द्र धरला र लेखापाल पदमप्रसाद खनाल कार्यालयमा नफर्केपछि विभिन्न योजनाको फरफारकको लागि आउने उपभोक्ता समितिका पदाधिकारी नगरमा आउँदै खाली हात फर्कंदै गर्ने गरेका छन् । 

नगरपालिकाका नायब सुब्बा चन्द्रपसाद बुढथापा र लेखापाल पदमप्रसाद खनाल नगरपालिकाको डोजर खरिदका लागि भन्दै जिल्ला बाहिर गएको लामो समयसम्म कार्यालयमा नफर्केपछि अहिले नगरपालिकामा सामान्य सिफारिस बाहेक अन्य काम नहँुदा सर्वसाधारण खाली हात फर्कने गरेको र केही कर्मचारी कार्यालय कुरेर बस्नुको विकल्प नभएको निमित्त कार्यालय प्रमुख नासु जयशंकर धितालले बताउनुभयो । 

त्रिपुरासुन्दरी नगरपालिकामा स्थायी अस्थायी तथा करार गरेर ५१ जनाको कर्मचारी भए पनि केही ११ वार्डका कार्यालय सहयोगी सहायक र कृर्षी र पशु कार्यालयका केही कर्मचारी बाहेक अन्य कर्मचारी कार्यालयमा हाजिर भएको देखिदैन । त्रिपुरासुन्दरी नगरपालिकाका ११ वडामध्ये ९,१० र ११ वडाका सचिव तथा निमित्त कार्यालय प्रमुख जयशंकर धिताल बाहेक नासु सो सरहका कुनै पनि कर्मचारी नहुँदा वडामा सिफारिस गर्न समेत समस्या पर्ने गरेको बताइएको छ । 

त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालय सामान्य रहेको वडा नं १ का सचिव नासु दीलीपकुमार चन्द गत फागुनको पहिलो साताबाटै जिल्ला बाहिर गएकोमा हालसम्म नआउँदा कार्यालको कामकाजमा समस्या पर्ने गरेको वडा अध्यक्ष कर्मसिंह थापाले बताउनुभयो । 

सिंहदरबारको अधिकार गाउँ÷गाउँमा आयो भन्थे तर नगरको कार्यशैली र नगरप्रतिनिधिको चालामाला हेर्दा के सिहदरबारको अधिकार आउथ्यो केवल सिंह मात्र आएको भान हुनथालेको छ सामान्य सिफारिसको लागि पहिला वडामा हुन्थ्यो तर अहिले नगरमा आउनु परेको छ गाउँमा सचिव छैनन् उहाँले थप्नुभयो । 

डोल्पा जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी कर्मचारी र सुविधा सम्पन्न नगरपालिकाको रुपमा रहेको त्रिपुरासुन्दरी नगरपालिकामा समेत नियमित कर्मचारीको व्यवस्थापन र जनप्रतिनिधिको गम्भीरता नहुँदा आफूहरुले स्थानीय सरकारको अनुभूति पाउन नसकेको समेत सर्वसाधारणले गुनासो पोख्न थालेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!