शिक्षकले नपढाउँदा विद्यार्थी विद्यालय छाड्दै

Posted on: 19 May, 2019

जेठ ५, डोल्पा | त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा छ शिक्षकको दरबन्दी छ । तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन् ।  प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी उहाँकी श्रीमती छोराको विवाहमा गएको लामो समय बिते पनि अहिलेसम्म विद्यालयमा फर्केका छैनन् । त्यस्तै अर्का शिक्षिका चन्द्ररुपा थापाले फागुनदेखि अहिलेसम्म विद्यालयमा पाइला टेकेका छैनन् ।

 थापाले अघिल्लो वर्षसमेत आठ महीना विद्यालय नआएर तलब खाएको स्थानीयवासीले बताएका छन् । प्रधानाध्यापक र उहाँकी श्रीमती छोराको विवाहमा महीना दिनअघि गएको र अहिलेसम्म विद्यालय नआएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्न नेवारले बताउनुभयो । शिक्षक विद्यालयमा नआउँदा दैनिक पढाइ प्रभावित हुँदै आएको छ ।

विद्यालयमा नियमित पढाइ नहुँदा र शिक्षकको लापरवाहीको सिकार हुँदा यहाँ पढ्ने विद्यार्थी नजिकै रहेको त्रिपुराकोट मावि मदुमा गएर पढ्न बाध्य भएको विद्यार्थी राम थापाले बताउनुभयो । प्रधानाध्यापक र उहाँको श्रीमतीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

विद्यालयमा नपढाउने शिक्षकलाई तलब कसरी दिइन्छ त ? राससको प्रश्नमा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख ओमबहादुर बुढाले भन्नुभयो, “प्रक्रियावद्ध रूपमा विद्यालय र वडा कार्यालयबाट सूचना र प्रमाण पेश गरेमा तत्काल त्यस्ता शिक्षकको तलब रोकिने छ ।”

स्थानीय सरकार गठन भएसँगै  स्थानीय सरकारले सबै हेर्दै आएकाले विद्यालय अनुगमनमा समस्या देखिएको शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाका प्रमुख सिंहराज डाँगीले बताउनुभयो । यो त प्रतिनिधिमूलक घटना मात्र हो, डोल्पाका अधिकांश विद्यालयमा  शिक्षकले  विद्यालयमा पढाउने भन्दा पनि व्यक्तिगत काममा समय खर्चिने गरेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!