संसदीय टोली शे–फोक्सुण्डो निकुञ्जमा

Posted on: 20 Nov, 2020

मङ्सिर ५, डोल्पा । प्रतिनिधिसभा,कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिसहितको संसदीय टोली यहाँ आएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण समितिका सदस्य भवानीप्रसाद खापुङ, भूपेन्द्रबहादुर थापा र  राजबहादुर क्षेत्रीको टोली शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पुगेको हो । 

सो टोलीले निकुञ्ज क्षेत्रको स्थलगत अध्ययन गर्नाका साथै निकुञ्जका विषयमा स्थानीयबासीसँग छलफल गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।

टोलीले  निकुञ्ज क्षेत्रका विभिन्न गाउँवस्तीमा बसोवास गर्ने स्थानीयसँग  संरक्षणका गतिविधिमा छलफल गर्ने  जनाइएको छ । निकुञ्जका निमित्त संरक्षण अधिकृत सरोजमणि पौडेलले भन्नुभयो “निकुञ्जको मुख्य क्षेत्रमा मात्रै २४  गाउँबस्ती छन् । स्थानीयबासी आवश्यकता र विकास निर्माणका कुरा छन् ।  निकुञ्जका ऐनकानूनले निकुञ्ज क्षेत्रमा विकास गर्नुपूर्व राष्ट्रिय निकुञ्ज विभागको अनुमति लिनुपर्ने प्रावधान राखेको छ ।” 

निकुञ्ज, स्थानीय सरकार र नागरिकबीच विवाद नआउने किसिमले नयाँ ऐन कानून निर्माण गर्ने कि भएको कानूनलाई थप कडाइ गर्न सघाउने भन्ने विषयमा समेत संसदीय टोलीको विशेष चासो रहेको निकुञ्जको भनाइ छ । 

निकुञ्ज क्षेत्रभित्र पाइने बहुमूल्य जडीबुटीको उपभोग जिल्लाका नागारिकले मात्रै गर्न पाउने व्यवस्था गरेमा निकुञ्ज संरक्षणमा थप सजिलो हुने जनाइएको छ । यसबाट नागरिकको आयस्तरमा समेत वृद्धि हुने निकुञ्जको विश्वास छ । निकुञ्ज स्थापनाको आवश्यकता र औचित्य सबैले बुझ्न जुरुरीरहेको संरक्षण अधिकृत पौडेलको भनाइ छ  । समितिले निकुञ्ज क्षेत्रमा पर्ने छेप्का, रिग्मो  र जिल्ला सदरमुकाम दुनैमा समेत छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!