प्रतिकूल मौसमका कारण दैनिक पचास प्रतिशत उडान रद्ध

Posted on: 04 Aug, 2018

रामचन्द्र न्यौपाने | साउन १९, डोल्पा | केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् । 

झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जिल्लामा हुने ५० प्रतिशतभन्दा धेरै उडान रद्द हुने गरेको छ । निरन्तर वर्षा र बाग्लो हुस्सुका कारण पश्चिम भेगका हवाई उडान प्रभावित हुँदै आएको नेपालगञ्ज विमानस्थलका उपप्रमुख विष्णु अधिकारीले बताउनुभयो । 

“अहिले नेपालगञ्ज विमानस्थलमा विभिन्न एयरलाइन्सका छवटा जहाज छन्, एउटा जहाजले दैनिक पाँचवटासम्म उडान भर्छन् तर आजभोलि मुश्किलले जम्मा १०÷१२ वटासम्म उडान हुन्छ” उहाँले भन्नुभयो । “हवाई उडान अनियमित हुनुमा बिग्रदो मौसम नै हो” उहाँले भन्नुभयो । 

मौसमकै कारणले नेपालगञ्ज विमानस्थलदेखि उडान भइसकेका जहाजसमेत विमानस्थलमा अवतरण गर्न नसकेर फर्कने गरेको उहाँले बताउनुभयो । आज मात्र जुम्ला, हुम्ला, मुगु, बाजुरालगायतका विमानस्थलमा केही उडान भएको नेपालगञ्ज विमानस्थलले जनाएको छ । 

दैनिक ५० प्रतिशतसम्म उडान रद्द हुने गरेपछि पश्चिमका सिमिकोट, जुफाल, जुम्ला, ताल्चालगायतका विमानस्थलमा यात्रु अलपत्र परेका छन् । विमानस्थलमा दैनिक यात्रु थपिने तर उडान भने नहुने भएपछि यात्रुको चाप बढ्दै गएको छ । 

राष्ट्रिय सडक सञ्जालको पहुँच पुग्न नसकेका डोल्पा र हुम्लाका विमानस्थलमा यात्रुको चाप दिन प्रतिदिन बढेको छ । जोखिमपूर्ण पैदलयात्राका कारण सर्वसाधारण जहाजबाटै गन्तव्यसम्म पुग्न खोज्ने गरेकाले डोल्पा र हुम्ला विमानस्थलमा यात्रुको चाप अन्य विमानस्थलको तुलनामा धेरै हुने गरेको हो । 

कर्णालीका विमानस्थलमा हवाई उडान अनियमित हुने गरेपछि हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन् । नेपालगञ्ज विमानस्थलदेखि जुम्ला, डोल्पा, हुम्ला, बझाङ, मुग र बाजुराका विमानस्थलमा उडान हुने गर्दछ । यस विमानस्थलबाट तारा, समिट, सीता, नेपाल एयरलाइन्सलगायतका निजी तथा सरकारी विमान कम्पनीले उडान भर्दै आएका छन् । 

अवतरण नगरेरै फर्किन्छन् जहाज 

केही दिनयता प्रतिकूल मौसमका कारण नेपालगञ्जबाट उडिसकेका जहाज पनि अवतरण नगरेरै फर्कने गरेका छन् । आजभोलि जहाज उडान भए पनि उडान भएको केही समयभित्रै बाग्लो हुस्सुले हवाई रुट बन्द भएपछि पहाडी जिल्लाका विमानस्थल पुगेका जहाज पनि अवतरण नगरेरै बीचबाटै फर्किने गरेको विमान कम्पनीहरुले जनाएका छन् । साथै क्षणभरमै विमानस्थल पूरै हुस्सुले ढाक्ने गरेको छ । 

शुक्रबार बिहान मात्रै नेपालगञ्ज विमानस्थलदेखि कर्णालीका विभिन्न विमानस्थलका लागि उडेका तारा एयरको जहाज अवतरण गर्न नसकेरै फर्केका थिए । 

जुफाल विमानस्थल पाँच दिनदेखि बन्द 

डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल पाँच दिनदेखि बन्द भएको छ । खराब मौसमका कारण दैनिक हवाई उडान अवरुद्ध हुने गरेपछि पाँच दिनदेखि एउटा पनि उडान हुन सकेको छैन । 

मौसम बिग्रदै गएका कारण आजभोलि आठ÷दश दिनमा तीन–चारवटा उडान मात्रै हुने गरेको जुफालमा उडान भर्दै आएका विमान कम्पनीले जानकारी दिएका छन् । जुफाल विमानस्थलमा जहाज आउन छाडेपछि कतिपय सर्वसाधारण जोखिमपूर्ण पैदलयात्रा गरेर गन्तव्यमा पुग्न बाध्य भएका छन् । 

जहाज आउन छाडेपछि जुफालमा कतिपय बिरामी, वृद्धवृद्धा अलपत्र परेका छन् । “दैनिक बिहान विमानस्थल आउछौँ तर जहाज आउँदैन्, निराश भएर घर फर्किनु परेको छ’’ त्रिपुरासुन्दरी नगरपालिका–१ की भावना कठायतले गुनासो गर्नुभयो । 

पाँच दिनदेखि जहाज नआएकाले जुफाल विमानस्थलमा यात्रुको चाप दिन प्रतिदिन बढ्दै गएको तारा एयर डोल्पाका कर्मचारी लंक भण्डारीले जानकारी दिनुभयो । जुफाल विमानस्थलमा जहाजको पर्खाइमा बसेका सबै यात्रुलाई उडाउन एकैचोटी चार÷पाँचवटा उडान आवश्यक पर्ने भण्डारीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!