पहिरोले कुलो भत्काउँदा डोल्पाको सदरमुकाम अन्धकार

Posted on: 06 Sep, 2018

भदौ २१, डोल्पा | मङ्गलबार राति पहिरोले कुलो भत्काउँदा डोल्पाको सदरमुकाम दुनै बजार अन्धकार भएको छ ।

स्थानीय जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा पहिरोका कारण ठप्प भएपछि सदरमुकामवासी अन्धकारमा बस्न बाध्य भएका हुन् । 

जैरीगाड खोला नजिको पहिरोले नहरको कम्तिमा ४० मिटर भाग भत्काएको आयोजनाले जनाएको छ । भत्किएको नहर निर्माणका लागि क्षेत्रीय विद्युत् प्राधिकरणको प्राविधिक टोलीले प्लाष्टिकका पाइप राखेर पानी सञ्चालन गरिने र यसका लागि बोलपत्र आह्वान गर्नुपर्ने जनाएको छ ।

यो पटकको पहिरोले कुलोमा ठूलो क्षति भएकाले सानोतिनो मर्मतले संभब नहुने जनाइएको छ । 

कुलोभन्दा माथि अझै पहिरो आउने सम्भावना भएकाले लामो समयसम्म विद्युत् अवरुद्ध हुनसक्ने र मर्मत गर्दा पनि पहिरो खस्ने सम्भावना भएकोे स्थानीय टीकादत्त न्यौपाने बताए । 

सोही ठाउँ नजिकै सोमबार साँझ पहिरोले करीब १५ मिटर कुलो भत्काउँदा २४ घण्टा विद्युत् अवरुद्ध भएको थियो । नेपाली सेनाले उक्त पहिरो मङ्गलबार मर्मत गरेपछि विद्युत् सेवा सञ्चालन भएकामा मङ्लबार राति गएको पहिराले झण्डै ४० मिटर कुलो भत्काउँदा झनै ठूलो क्षति भएको उहाँले जानकारी दिए ।

केही समय पहिले दुई सय किलोवाट विद्युत् उत्पादन हुने जैरीगाड पावरहाउसमा पछिल्लो पटक ३० देखि ४० किलोवाट मात्र उत्पादन हुँदै आएको थियो । 

एउटा जेनेरेटर केही समय अघि जलेकाले बुटवल पावर कम्पनीमा मर्मत भइरहेको र हाल रहेको एक सय किलोवाटको क्षमताको जेनेरेटरमा खराबी आउँदा ४० किलोवाटसम्म विद्युत् उत्पादन हुने गरेकाले सदरमुकाम दुनै बजार र जुफालमा पालै पालो गरी विद्युत् आपूर्ति हुँदै आएको थियो । विद्युत् सेवा बन्द भएसँगै सदरमुकामस्थित रेडियो डोल्पा तथा सरकारी कार्यालयको कामका साथै समाचार सम्प्रेषण गर्न समस्या भएको पत्रकार सुकमाया थापाले राससलाई बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!