तीन स्रोतव्यक्तिको भरमा डोल्पाका आठ स्थानीय तह

Posted on: 28 Nov, 2018

मङ्सिर १२, दुनै | दुर्गम जिल्ला डोल्पाका स्थानीय तहका शिक्षाफाँट स्रोतव्यक्तिका भरमा चल्दै आएका छन् । 

जिल्लाका आठवटै स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारीको पदपूर्ति नभएपछि तीनजना स्रोतव्यक्तिका भरमा शिक्षाफाँट चल्दै आएका हुन् । 

त्रिपुरा सुन्दरी, ठूलीभेरी नगरापालिका, काइके, डोल्पो बुद्ध, शेफोक्सुन्डो, छार्काताङसोङ, जगदुल्ला, मुड्केचुला गाउँपालिका तीनजना स्रोतव्यक्तिको भरमा चल्दै आएका छन् । 

कर्मचारीको नाममा तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकामा एकजना प्राविधिक सहायक कार्यरत छन् । विद्यालय निरीक्षकको पदपूर्ति भने भएको छैन । 

प्रत्येक स्थानीय तहमा एक जना विद्यालय निरीक्षक र प्राविधिक सहायकको दरबन्दी अनिवार्य भए पनि अझै पदपूर्ति हुन सकेको छैन । 

जनतालाई प्रत्यक्षरुपमा सरकारको प्रत्याभूति दिलाउन गठन गरिएका स्थानीय तहमा कर्मचारी अभाव भएपछि शिक्षासम्बन्धी कामकाज गर्न निकै समस्या भएको छ । 

“सम्बन्धित फाँटवाला कर्मचारी नहुँदा शिक्षाका कामकाज गर्न समस्या हुनुका साथै एकजना स्रोतव्यक्तिले नगरको शिक्षाफाँट धान्नुपर्ने बाध्यता छ”, त्रिपुरा सुन्दरी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत नेत्रराज गिरीले भन्नुभयो । 

शिक्षाफाँटमा कर्मचारी अभाव हुँदा, शिक्षा योजना निर्माण, विद्यालय निरीक्षण, जिल्लास्तरीय परीक्षा सञ्चालनजस्ता थुप्रै कामकाज गर्न ठूलो समस्या भएको उहाँको भनाइ छ । 

स्थानीय तहमा विद्यालय निरीक्षक र प्राविधिक सहायकको पदपूर्ति नहुँदा सम्पुर्ण कामकाज एक्लै धान्नुपर्ने बाध्यता रहेको त्रिपुरा सुन्दरी नगरपालिका स्रोतव्यक्ति भीम धरलाले जानकारी दिनुभयो । एकले दुईदेखि तीनवटासम्म स्थानीय तह धान्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । 

स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्ष बितिसक्दासमेत कर्मचारी नपठाइएपछि जिल्लाका प्रत्येक स्थानीय तहले चित्तबुझ्दो तरीकाले काम गर्न नपाएको जिल्ला प्रशासन शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । 

“प्रायःसबै स्थानीय तह विद्यालय निरीक्षक र प्राविधिक सहायकविहीन छन्, मुड्केचुला गाउँपालिकामा एकजना प्राविधिक सहायकबाहेक सबै स्थानीय तहमा कर्मचारी पदपूर्तिको अवस्था शून्य छ”, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सिंहराज डाँगीले भन्नुभयो । 

यसपटक कर्मचारी नहुँदा पुस पहिलो सातासम्म सम्पन्न गर्नुपर्ने आधारभूत तह (१–८) र माध्यामिक तह (९–१०) को परीक्षा सञ्चालन गर्न समस्या भएको डाँगीले बताउनुभयो । 

सम्बन्धित स्थानीय तहसँग सहकार्य गर्दै विद्यालयका प्रधानाध्यापकहरुको भेला राखेर जिल्लास्तरीय परीक्षा सञ्चालनको जिम्मा दिइएको समन्वय एकाइको भनाइ छ । 

कर्मचारी अभावमा विद्यालय निरीक्षकले गर्नुपर्ने परीक्षा सञ्चालनदेखि निरीक्षणसम्म स्थानीय तहमा कार्यरत खरिदारदेखि नायब सुब्बाले गर्नुपर्ने बाध्यता रहेको स्थानीय तहले जनाएका छन् । 

अधिकार सम्पन्न स्थानीय सरकारको नियमित कामकाज कर्मचारी अभावका कारण अन्योलमा पर्दै आएको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताउनुभयो । 

जिल्लास्तरीय परीक्षा चलाउने जिम्मेवारी स्थानीय तहकै भए पनि कर्मचारी नहुँदा यसको व्यवस्थापन गर्न समस्या भएको शाहीको भनाइ छ । 

सम्बन्धित फाँटवाला कर्मचारीको अभावमा जेनतेन चलाइएको कामकाज प्रभावकारी नहुनुका साथै दीर्घकालीन प्रतिफलसमेत नआउने सरोकारवालाको भनाइ छ । 

स्थानीय तहमा शिक्षासम्बन्धी हुने कामकाजलाई प्रभावकारी बनाउन सरकारले यथाशीघ्र कर्मचारी पठाउनुपर्ने डोल्पाका स्थानीय तहको माग छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!